
काठमाडौं, १२ फागुन– २४ जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइदैँ छ । सरकारले हात्तीपाइले रोग निवारणका लागि यसको जोखिम रहेका जिल्लामा औषधि खुवाउन लागेको हो ।
पाँचथर, इलाम, झापा, भोजपुर लगायत २४ जिल्लाका ९१ लाख ५४ हजार मानिसलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कार्यक्रमका लागि ८ हजार ५ सय ५७ स्वास्थ्यकर्मी र ४४ हजार ५ सय २४ स्वयंसेवक परिचालन गरिने महाशाखाले जनाएको छ ।
राष्ट्रिय आम औषधि सेवन कार्यक्रम मार्फत ती जिल्लामा तीन दिनसम्म औषधि खुवाइने छ । औषधि सेवन गरेको केही समयपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने जस्ता समस्या आए औषधिले काम गरेको भन्ने बुझ्नुपर्ने चिकित्सकले बताएका छन् ।
औषधि खुवाउन सरकारले ३८ करोड ३५ लाख २१ हजार रकम बिनियोजन गरेको छ । संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोइकाईबाट सर्ने हात्तीपाइले रोगबाट ३० हजार बढी मानिसमा अपाङ्गता भएका छन् ।