
काठमाडौं, १३ फागुन– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारबाट बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको शनिबारको बैठकले परिमार्जनसहित पारित गरेको विधान अनुमोदन गर्ने कार्य सूची रहेको छ ।
संसदीय दलको सिंहदरबारमा बसेको बैठकले नेता डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि दलको नेता चयन प्रक्रिया शुरु हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैलाई मिलाएर संघीय संसद् बनेको हुनाले त्यसअनुरुपको नयाँ विधान बनेपछि मात्रै संसदीय दलको निर्वाचन गर्नुपर्ने हुन्छ ।
काँग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने बताएको छ ।