२० असार २०८३, शनिबार

प्रमुख समाचारः मन्त्रिमण्डल विस्तारमा सकस, ओली सरकारको निर्णयमा सर्वोच्चको ‘ब्रेकर’

फागुन १४, २०७४
प्रमुख समाचारः मन्त्रिमण्डल विस्तारमा सकस, ओली सरकारको निर्णयमा सर्वोच्चको ‘ब्रेकर’

काठमाडौं, १४ फागुन– एमाले र माओवादी केन्द्रभित्र केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने चाहने नेताहरु धेरै  देखिएका छन् । आकांक्षी धेरै भएकै कारण मन्त्री मण्डल बिस्तारमा सकस परेको  नेताहरुले बताएका छन् ।  गत फागुन ३ गते ओलीले आफूले पद तथा गोपनियताको सपथ लिएलगत्तै   तीन सदस्यीय मन्त्रिमण्डल बनाएपनि थप बिस्तार गर्न सकेका छैन । 
नेकपा एमाले र माओवादी केन्द्र केन्द्रबीच एमालेले १० र माओवादीले ७ मन्त्रालय पाउने गरी भागबण्डा भएको छ । तर, को–को मन्त्री बन्ने भन्नेमा दुबै पार्टीले नामको अन्तिम टुंगो लगाउन नसकेको हो । ओलीले  एमालेबाट लालबाबु पण्डित र थममाया थापा गरी  दुई जनालाई मन्त्री बनाएका छन् । 
दुबै पार्टीले  सोमबार दिउँसोसम्म नाम टुंग्याउने प्रयास गर्ने र साँझसम्ममा मन्त्रिमण्डल बिस्तार गर्ने प्रम ओलीको तयारी छ । 
ओली प्रचण्ड वान टु वान वार्ता
यसैबीच सरकार विस्तारबारे   प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार साँझ ‘वान टु वान’ (एक्लाएक्लै) भेटवार्ता भएको छ । 

 प्रचण्ड गृहजिल्ला  चितवन हुँदै रौतहटको एउटा कार्यक्रममा सहभागि भएर काठमाडौं फर्किएसँगै दुई नेताबीच भेटवार्ता भएको हो । 
भेटमा प्रचण्डले सोमबार बिहान मन्त्री छान्न शीर्ष नेताहरुको बैठक बोलाइएको भन्दै  सो बैठकले सरकारमा सहभागि हुनेहरुको टुंगो लाग्ने बताएका थिए । 
माओवादीबाट सरकारको नेतृत्व रामबहादुर थापाले गर्ने  तय भएको छ । तर गृहमन्त्री को भन्ने भन्नेमा मुख्य विवाद देखिएको छ ।  थापाले आफूले गृहमन्त्री पाउनु पर्ने बताइरहँदा प्रचण्डको विस्वासपात्र मानिने वर्षमान पुन र जनार्दन शर्माले पनि दाबी गरिरहेका छन् । 

यता एमालेमा पनि  क–कसलाई मन्त्री बनाउने भन्नेमा टुंगो लागेको छैन । एमालेले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई नै  पार्टीको भागमा परेको १० मन्त्रीको नाम टुंगो लगाउने जिम्मेवारी दिएको छ । 

मन्त्रीमा एमालेबाट  प्रदीप ज्ञवाली, विष्णु पौडेल, नारदमुनी राना, इश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल, प्रेम आलेलगायतको नाम चर्चामा छ । अन्तिम टुुंगो  सोमबार नै टुंगो लगाइने छ  । 

सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रिपतिले राष्ट्रियसभा सदस्यमा मनोनित गरेका तीनजनालाई तत्काल सपथ नगर्नु नगराउन भनि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । 

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले यस्तो आदेश दिएको हो । साथै यो रिटमा कारण देखाउ आदेश जारी भएको छ । थप छलफलका लागि आउँदो फागुन २० गते उपस्थित हुन अदालतले आदेश दिएको छ । 

सरकारले गत मंगलवार (माघ ८ गते) रामनाथ बिडारी, युवराज खतिवडा र विमला पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रिपतिसमक्ष सिफारिस गरेको थियो । सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन (मंगलवार) नै तीनजनालाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेका चाँदनी जोशी, गोपाल कुमार बस्नेत र कृष्णप्रसाद पौडेलको नाम फिर्ता लिएर एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नयाँ नाम सिफारिस गरेको थियो । 

अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिएर संविधानविपरित राष्ट्रियसभा सदस्यमा नयाँ नाम सिफारिस गरि मनोनित गरिएको भन्दै गोपाल कुमार बस्नेत लगायतले गत शुक्रवार (माघ ११ गते) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

लालबाबुको ‘एक्सन’

जनसंख्या तथा वतावरण मन्त्री लालबालु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन नगरी होटल निर्माण र सेवा विस्तार गरेको भन्दै विभिन्न होटल र अस्पताललाई कारबाही गर्ने निर्णय गरेका छन् ।

मन्त्रालयमा बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट रवीभवनले वातावरणीय प्रभाव मूल्यांकन (इआइए)नगरी होटल निर्माण गरेकोले एकलाख जरिवाना तिराउने निर्णय गरेको छ । त्यस्तै द्वारिका होटल गौशालाले इआईए नगरि क्षमता विस्तार गरेको भन्दै उसलाई पनि एक लाख जरिवाना तिराउने निर्णय गरेको मन्त्री पण्डितका स्वकिय सचिव वसिम आलमले जानकारी दिए ।

बैठकले सिद्धि होटल रविभवन, काठमाडौं गेष्टहाउस ठमेललगायतलाई पनि एक एकलाख जरिवाना तिराउने निर्णय गरेको छ ।

त्यस्तै अस्पताल तर्फ काठमाडौं मोडेल अस्पताल वागबजार, काठमाडौं अस्पताल त्रिपुरेश्वर, नेपाल नेशनल हस्पिटल कलंकी, अन्तराष्ट्रिय मैत्री वाल अस्पताललाई समेत इआईए नगरेको भन्दै आवश्यक कारवाही गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ ।

अरनिको आबुखैरेनी सिमेन्ट, काठमाडौं दुग्धवितरण आयोजना बालाजुलगायतलाई वातावरणीय मूल्यांकन नगरेको भन्दै ५० हजार जरिवाना तिराउने निर्णय बैठकले गरेको छ ।

मुख्यमन्त्री राउतद्वारा प्रतिबद्धतापत्र सार्वजनिक
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । 

मुख्यमन्त्री राउतले आइतबार मुख्यमन्त्री निवासमा आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा प्रदेश २ मा सुशासन कायम गर्नका लागि सो प्रतिबद्धतापत्र जारी गरेका हुन् ।  

प्रदेश नं २ को मुख्यमन्त्री पदको शपथ लिँदै गर्दा मुख्यमन्त्री राउतले प्रदेशमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएअनुरुप प्रदेशभित्र सुशासन कायम गर्न प्रतिबद्धता पत्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । 

कान्तिपुरलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ । 

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आइतबार अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो । 

प्रधानन्यायाधीश पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर गर्नुभएको अवहेलनाको मुद्दामा सुनवाइपछि अदालतले सो आदेश दिएको हो । 

आदेशमा बयानका लागि म्याद नगुज्रने गरी ७२ घण्टाभित्र गु्रपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने पत्रकार कृष्ण ज्ञवालीलाई उपस्थित हुन भनिएको छ । 

साथै, आदेशमा कान्तिपुरले पत्रकार आचारसंहिताको पालना गरे÷नगरेको अध्ययन गरी कानूनसम्मत कारबाही गर्न प्रेस काउन्सिल नेपालका नाममा पनि अन्तरिम आदेशसमेत दिएको छ । 

    
दुर्घटनामा चारको मृत्यु
 
    रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आइतबार ट्र्याक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रामारोसन गाउँपािलकाका कलशी साउथ र नरु भण्डारी छन् ।  
    यता  सप्तरीको उत्तरी पूर्वी भेगमा पर्ने फत्तेपुर–कञ्चनपुर सडक खण्डअन्तर्गत मलेठमा पनि माइक्रोबसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

    फत्तेपुरबाट काठमाडाँै जाँदै गरेको बा ४ ख ८२४ नं को हायस माइक्रोबसले कञ्चनरूप नगरपालिका–६ मलेठस्थित मोडमा घुमाउने क्रममा पछाडिबाट आइरहेको को ३१ प ३३५० नं को मोटरसाइकल ठोक्किँदा सो दुर्घटना हुँदा मोटरसाइकल चालक उदायपुर, बोल्का नगरपालिका, तपेश्वरी बस्ने २५ वर्षीय राजेशकुमार साह र पछाडि सवार सुनसरी, इनरुवा नगरपालिका २ बस्ने २६ वर्षीय दिलीपकुमार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ

    महोत्तरी जिल्लाको बर्दिवासमा एक जना अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका छन् । 

    बर्दिवास नगरपालिका–१ का करीब ४० वर्षीय अच्युतम रिसाललाई जिल्लाकै गौशाला नपाको लक्ष्मीनियाँका ११ वर्षीय बालकमाथि यौनजन्य अप्राकृतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । 
    काँग्रेस संसदीय दलको विधान अनुमोदन
    
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गरेको छ । 

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन प्रक्रियाको गृहकार्य गर्न समिति गठन गरेको छ । बैठकले नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्दम्बे र नवीन्द्रराज जोशी सदस्य रहेको समिति गठन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । समितिले संसदीय दलको नेता चयनका लागि सर्वसम्मति वा निर्वाचन प्रक्रियालाई पूर्णता दिन आवश्यक गृहकार्य गर्नेछ । 

    काँग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको शनिबार बसेको संयुक्त बैठकले काँग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो । नेपालको संविधानबमोजिम दुई सदनात्मक व्यवस्थापिकानुसार काँग्रेसले पार्टी संसदीय दलको विधान परिमार्जन गरी पारित गरेको छ ।  कांग्रेसले संसदीय दलको निर्वाचन फागुन २१ मा गर्ने भएको छ । 

      फुजेल घटनाका जाहेरवाला झिकाउन आदेश 

    गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ । 

    जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिनुभएको हो । जाहेरवाला नुरप्रसाद कृष्णप्रसादका दाजु हुन् । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार जाहेरवाला नुरप्रसादलाई अदालतले म्याद जारी गर्ने छ । म्याद बुझेपछि उनलाई अदालतमा बकपत्र गराइने उनले बताए । यसअघि पनि पटक पटक सर्दै आएको पेशी आइतबारका लागि सरेको थियो । 

    विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको र त्यसको एक वर्ष छ महिनापछि नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्