०२ साउन २०८३, शनिबार

प्रदेशका लागि आवश्यक कानून बनाउन जुट्यो पाँच नम्बर

फागुन १४, २०७४
प्रदेशका लागि आवश्यक कानून बनाउन जुट्यो पाँच नम्बर

बुटवल, १४ फागुन– प्रदेश नम्बर पाँचको सरकारले प्रदेशका लागि आवश्यक कानून बनाउने गृहकार्य तीव्र बनाएको छ । त्यसका लागि प्रदेश कानून मस्यौदा तथा सुझाव आयोग गठन गर्ने तयारी भइरहेको आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रशाद केसीले बताए ।

प्रदेशसभाले २२ वटा कानून तयार पारेपछि मात्रै प्रदेश सरकारले आफ्नो अधिकार प्रयोग गर्न सक्छ । यस्ता कानूनहरु संघीय कानूनसँग बाँझिने हुनुहुँदैन् । 

सामान्य प्रशासन मन्त्रालयले तयार पारेर पठाएको मस्यौदाको आधारमा आफूहरुले तत्कालै निर्माण गर्नुपर्ने प्रदेशको कानून छिटो निर्माण गर्न लागेको मन्त्री केसीले जानकारी दिए ।

प्रदेश कर, प्रदेश सुरक्षा, वित्तीय विनियोजन, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक, अन्य सुविधा,प्रदेश सरकारको कार्यविभाजन र कार्यसम्पादनसम्बन्धी नियमावली, र प्रदेशसभाको विशेषाधिकार सम्बन्धी प्रदेश कानून तत्काल बनाउन आवश्यक रहेको मन्त्री केसीले जनाए । 

प्रशासन विज्ञ काशीराज दाहालको संयोजकत्वमा गठित मस्यौदा समितिले गत वर्ष फागुनमै संघ र प्रदेशको मस्यौदा तयार पारिसकेको थियो । सोही प्रदेश कानून मस्यौदाको आधारमा प्रदेशहरुले आफूअनुकूल बनाएर संसद्बाट कानून निर्माण गर्ने तयारी गरेको सचिव निर्मला भट्टराईले बताइन् । यसैबीच प्रदेशको आर्थिक कार्यविधि ऐन र नमुना कानूनहरुको मस्यौदा भने सरकारले आफ्नो वेभसाइटमा राखिसकेको छ । 

कानून कस्तो बन्छ ? 

प्रदेशले संविधानको धारा ७ को उपधारा २ अनुसार ‘प्रदेशको सरकारी कामकाजको थप भाषा निर्धारण गर्नेसम्बन्धी’ कानून बनाउनुपर्ने प्रावधान छ । संविधानको धारा ६० को उपधारा ५ बमोजिम ‘प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफनो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नेसम्बन्धी’ कानुन बनाउनुपर्ने उल्लेख छ ।

त्यसैगरी, धारा १४८ को उपधारा २ बमोजिम ‘स्थानीय स्तरका न्यायिक निकायसम्बन्धी’ प्रदेश कानुन पनि प्रदेशले नै बनाउनुपर्छ । संविधानको धारा १६० को उपधारा ७ बमोजिम ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्तसम्बन्धी’ प्रदेश कानुन प्रदेशको जिम्मामा छ । त्यस्तै संविधानको धारा १६२ को उपधारा ५ बमोजिम र धारा १६६ को उपधारा ३ बमोजिम ‘प्रदेश सरकार र प्रदेश प्रमुखको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरणसम्बन्धी’ प्रदेश कानून बनाउने अधिकार पनि प्रदेशमै छ । 

यस्तै, प्रदेशले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक र अन्य सुविधा, सपथसम्बन्धी ऐन, प्रदेश सरकारको कार्यविभाजन र कार्यसम्पादनसम्बन्धी नियमावली, प्रदेश सभाको कार्यकाल थप गर्ने ऐन, प्रदेशसभाको विशेषाधिकार, प्रदेशसभाको नियमावली, प्रदेशसभाको समिति वा विशेष समिति गठन नियमावली र प्रदेशसभाका सदस्यहरुको सपथसम्बन्धी नियमावली बनाउनुपर्ने छ । 

प्रदेशको आकस्मिक कोष, आर्थिक कार्यविधि ऐन, जिल्ला सभा सञ्चालन, जिल्ला समन्वय समितिका सदस्यको सुविधा, प्रदेशसभाको सचिवको योग्यता, काम, कर्तव्य अधिकार र सेवा, प्रदेशसभा सभामुख, उपसभामुख,सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी कानुन पनि बनाउनुपर्छ । प्रदेश सरकारी सेवाको गठन र सञ्चालन, प्रदेश प्रहरी संगठनसम्बन्धी कानुन पनि प्रदेशले निर्माण गर्नुपर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्