
काठमाडौँ, १४ फागुन - नेकपा(माओवादी केन्द्र)ले आज ‘जनयुद्ध’का पहिलो शहीद दिलबहादुर रम्तेलको स्मरण गरी श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
‘शहीद सप्ताह’को पहिलो दिन आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा २०५२ साल आजकै दिन गोरखामा मारिएका रम्तेलको तस्वीरमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले माल्र्यापण गरे । माओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ ।
जनयुद्धका प्रथम शहीद रम्तेलदेखि २०२८ सालमा झापाको सुखानीमा मारिएका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको सम्झनामा शहीद सप्ताह मनाउने गरिएको छ । विसं २०२८ फागुन २१ गते झापाबाट इलाम कारागार सार्ने बहानामा तत्कालीन सरकारले आन्दोलनका अगुवा लाई झापा र इलामको सिमानामा हत्या गरेको थियो ।