काठमाडौं, १५ फागुन — सिरियाली विद्रोहीहरूको कब्जामा रहेको पूर्वी गूता क्षेत्रमा रुसले आह्वान गरेको पाँच घण्टे युद्धविरामका कारण शान्ति छाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । विगत नौ दिनदेखि सयौं मानिस मर्ने गरी भएको सरकारी आक्रमणमा सानो विराम लागेको हो ।
सिरिया सरकारलाई समर्थन गर्ने रुसले बिहान नौ बजेदेखि दिउँसो दुई बजेसम्म दिनदिनै युद्धविराम गर्ने आदेश दिएको छ अनि नागरिकहरूलाई उक्त क्षेत्रबाट जान दिनका लागि मानवीय कोरिडोरको व्यवस्था गरेको छ । राजधानी
दमास्कसनजिकको यो क्षेत्र नै विद्रोहीको पकड रहेको अन्तिम प्रमुख क्षेत्र हो ।
सिरियाको सरकारी टीभीले सरकारको नियन्त्रणमा रहेको क्षेत्र दूमाबाट प्रसारण गर्दै त्यहाँ आवागमन खुलेको बताएको छ । केही व्यक्तिहरू सडकमा देखिन्थे तर कसैले पनि उक्त क्षेत्र छोडेर नगएको बताइएको छ ।
मानिसहरूलाई बाहिर जान नदिनका लागि लडाकूहरूले कोरिडोरमा बम आक्रमण गरिरहेको सरकारी टीभीले बतायो । तर एक प्रमुख विद्रोही समूह फैलाक अल–रहमानका प्रवक्ताले कसैलाई बाहिर जानबाट रोकिएको आरोपलाई अस्वीकार गरे ।
यो सैन्य क्षेत्र भएकाले कोरिडोर नजिकको इलाकानेर पुग्न कसैले हिम्मत नगरेको उनले बताए । सरकारी पक्षतर्फ जाँदा पक्राउ परिने वा सेनामा जबर्जस्ती भर्ती गराइने डर मानिसहरूमा रहेको उनी बताउँछन् ।
सिरियन अब्जर्भेटोरी फर ह्युमन राइट्सले मध्यरातदेखि पूर्वी गूतामा शान्ति छाएको तर बिहानीपख युद्धविराम हुनुअघि चारवटा रकेटले दूमामा आक्रमण गरेको बताएको छ ।
रोयटर्सबाट