१२ असार २०८३, शुक्रबार

प्रमुख समाचार : सिंहदरबारमा लालबाबु र मातृकाको ‘इन्ट्री’ ले कर्मचारीको निदहराम, सरकारमा सहभागि हुन फोरम सकारात्मक

फागुन १६, २०७४
प्रमुख समाचार : सिंहदरबारमा लालबाबु र मातृकाको ‘इन्ट्री’ ले कर्मचारीको निदहराम, सरकारमा सहभागि हुन फोरम सकारात्मक

काठमाडौं, १६ फागुन– केपी शर्मा ओली नेतृत्वको सरकारका  मन्त्रीहरु मातृका यादव र  लालबाबु पण्डितका कारण सम्बद्ध  मन्त्रालय र मातहतका कर्मचारीको निदहराम  भएको छ । ‘सरकारी काम कहिले जाला घाम’ प्रबृत्तिका ‘ठग’ सरकारी कर्मचारीलाई लालबाबु पण्डित र मात्रिका जस्तो खरो स्वभावका मन्त्रीको आगमन जीउमा ‘काउछो लगाए’ सरह भएको छ ।
सोमवार शपथ लिएर पदभार ग्रहणको समयमै नवनियुक्त उद्योग मन्त्री मात्रिका यादवले समयमै उपस्थित हुन कर्मचारीलाई निर्देशन दिएका थिए । ‘गडबढ गर्नेका लागि मात्र म खरता हुँ, राम्रो काम गर्नेलाई मित्रवत व्यबहार गर्छु,’ पदवहाली पछि यावदले भनेका थिए ।
यस्तै वातावरणमन्त्री लालबाबु पण्डितले पनि कामचोर कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिँदै आएका छन् । मन्त्रालय आएको दिन मै लालबाबुले विदेशीको चाकडी गर्नेहरुको स्वार्थ अनुसारको काम नगर्न कर्मचारीलाई कडा निर्देशन दिइसकेका छन् । मन्त्रालयका कर्मचारी विदेश भ्रमणमा गएर नियमित काम समेत प्रभावित हुने गरेको भन्दै उनले काममा प्रतिबद्ध हुन कर्मचारीलाई निर्देशन दिएका थिए ।
मंगलवार उद्योग मन्त्रालयमा भेटिएका एक सेवाग्राहीले मातृका र लालबाबुजस्ता खरो स्वभावका नेता मन्त्री भएर आएपछि कामचोर ‘ठग’ कर्मचारीको सातो गएको बताए ।

फोरमसँग वार्ता सकारात्मक


सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका नेताहरु गृहकार्यमा लागेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिता रहने र आपसी सहमति एवं औचित्यका आधारमा संविधान संशोधनका विषय अगाडि बढाउने गरी दुवै पक्षका नेताहरु आपसी एवं अनौपचारिक छलफलमा लागेका हुन् । 

एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले आफूहरुको छलफल सकारात्मक रहेको र चाँडै निष्कर्षमा पुगिने जानकारी दिए । दुई पक्षबीच लिखित सहमति गर्ने तयारी पनि भएको छ । 

प्रधानमन्त्री ओलीले फोरम सरकारमा आउने अपेक्षाका साथ सोमबारको मन्त्रिमण्डल विस्तारलाई आंशिकरुपमा मात्र विस्तार गरेका थिए  भने फोरमका मागका विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरुसँग पनि परामर्श गरेका थिए ।  फोरमको नेतृत्वमा रहेको प्रदेश नं २ को सरकारलाई वम गठबन्धनले समर्थन दिइसकेको छ । 

वाम एकतालाई अन्तिम रुप दिने प्रयास 
नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई औपचारिकता दिने प्रयास शुरु गरिएको छ । दुई पार्टीको एकीकरणका लागि बनेको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान लेखन र जनवर्गीय संगठनको एकीकरणको खाका तयार गर्न शुरु गरेको हो । 

एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलवार सम्पन्न संगठनसम्बन्धी कार्यदलकोे बैठकले विधानको खाका तयार गर्न वर्षमान पुन र वेदुराम भुसाल तथा जनवर्गीय संगठनको एकीकरणको प्रस्ताव तयारीका लागि गोकर्ण विष्ट र गिरिराजमणि पोखरेल रहेको उपसमितिलाई जिम्मा दिएको छ । दुवै उपसमितिले यही फागुन २२ गते बस्ने कार्यदलको बैठकमा प्रतिवेदन पेश समयसीमा तोकिएको छ । 

फागुन ७ गतेको पार्टी एकता संयोजन समितिको बैठकमा सहमति भएको एकीकरणका प्रारम्भिक सात आधारमा सो कार्यदल गठन भएको हो । 


काँग्रेस संसदीय दलको निर्वाचन फागुन २१ गते


नेपाली काँग्रेस संसदीय दल निर्वाचन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि यही फागुन २१ गते निर्वाचन गर्ने तयारी गरेको छ । 

सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको समितिको बैठकले २१ गते अपराह्न ४ बजे संघीय संसद्को बैठक बस्नुभन्दा अगाडि संसदीय दलको निर्वाचन गर्ने तयारी गरेको काँग्रेसका नेता तथा समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए । 

समितिले संसदीय दलको नेता चयनका लागि औपचारिक रुपमा १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन गर्ने तयारी गरेको छ । 

समितिको संयोजकमा श्रेष्ठ तथा सदस्यमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्वे छन् । बैठकले समितिका सदस्यसचिवमा केशव रिजाललाई राख्ने तय गरेको छ । दलको नेताका लागि सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री प्रकाशमान सिंहको नाम बाहिर आएको छ ।


जाली नेपाली नोटसहित छ जना पक्राउ


प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न गिरोहका पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । 

बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न आएका दुई व्यक्तिका साथबाट रु पाँच सयको नक्कली नोट भोटिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा थप चारजना पक्राउ परेका हुन् । 

धनुषा शर्षा नगरपालिका–९ घर भई हाल ललितपुर नख्खीपोट बस्ने धिरजबहादुर श्रीनेत ठकुरी र भोजपुर खावा–९ घर भई हाल नख्खीपोट बस्ने निगम राईले गत फागुन १२ गते कार्की फामेर्सीमा औषधि खरिद गरी रु पाँच सयको नोट दिएकामा औषधि पसलले शंका लागि प्रहरीलाई खबर गरेपछि सो गिरोहबारे खुलेको हो । 

औषधि पसलेले खबर गरेलगत्तै पुगेको महानगरीय प्रहरी वृत्त, कालीमाटीको प्रहरी टोलीले ठकुरी र राईलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ठकुरीको साथबाट रु ५०० दरको थप दुई थान नोट बरामद गरेको थियो । 

उनीहरुसँग प्रारम्भिक सोधपुछ गर्दा सो नक्कली नोट ललितपुर गोदावरी नगरपालिका–४ घर भई हाल ललितपुरको ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी बस्ने मनोज केसीबाट लिएको बताएपश्चात् फागुन १३ गते वर्कसपबाट केसीलाई प्रहरीले पक्राउ गरेको थियो । 

केसीको शरीर तलासी गर्दा उनसको साथबाट समेत एक थान रु ५०० को नक्कली नोट बरामद भएपश्चात् सोधपुछ गर्दा उनले सो नोट सोलुखुम्बु, तिम्ला घर भई हाल काठमाडौँ, कपन बस्ने भेषकुमार थापा मगरबाट लिएको बताएपछि मगरलाई समेत प्रहरीले पक्राउ गरेको थियो । 

मगरका साथबाट २१ थान पाँच सयको नक्कली नोट बरामद भएपछि आफूलाई रामेछाप, नागदह घर भई हाल गोठाटार बस्ने नेमा तामाङको साथबाट रु एक हजारको नक्कली नोट बरामद भएको थियो । 

तामाङले आफूले सो रकम आशीष माझीलाई पनि दिएको माझीलाई पक्राउ गर्दा उनको साथबाट समेत रु ५०० को नक्कली नोट बरामद भएको थियो । अनुसन्धानका क्रममा ती नक्कली नोटहरु नेमा तामाङले वीरजगन्जबाट ल्याएको खुल्न आएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुलाई काठमाडौँ जिल्ला अदालतबाट खोटाचलन शीर्षक मुद्दामा मुद्दा अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ । 

शाहीलाई विश्वास मत प्राप्त
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेससभाको मंगलबार बसेको बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् । 

उनले संविधानको धारा १६८ को उपधारा २ अनुरूप विश्वासको मत माग्दै प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गरेका थिए ।  

प्रस्तावको पक्षमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का ३२ सदस्य तथा विपक्षमा नेपाली काँग्रेसका ५ र राप्रपाका एक गरी छ जना सदस्यले मतदान गरेका थिए । 

सामान्य रुपमा बढ्यो धितोपत्र बजार
लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार मंगलबार  भने उकालो लागेको छ । 

सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भएपछि शेयर बजारले स्वागत गरेको धितोपत्र बजारका जानकारहरुले टिप्पणी गरेका छन् । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार ५.८६ बिन्दुले उकालो लागेर एक हजार ३६४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.५१ बिन्दुले उकालो लागेर २८९.१६ बिन्दुमा पुगेको छ । 

मंगलबार  कूल १५३ कम्पनीको ११ लाख ५१ हजार ९६५ कित्ता शेयर रु ५५ करोड ६८ लाख ६० हजार ३५७ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक र कारोबार रकममा बढोत्तरी भए पनि उपसूचक भने केही घटेका छन् भने केही बढेका छन् । बैंकिङ ५.८६, होटल ३१.२६, फाइनान्स ३.०३, अन्य ११.९ र माइक्रोफाइनान्स ०.९८ बिन्दुले उकालो लागेको छ । 

यस्तै विकास बैंक ०.३७, जलविद्युत् १.१६, बीमा २.६२ र उत्पादन समूह १०.४१ बिन्दुले ओरालो लागेको छ । लगानीकर्तामा सरकार विस्तारपछि सामान्य रुपमा प्रभाव पर्दा बजार केही उकालो लागेको जानकारहरुले बताएका छन् । 

दुर्घटनामा तीनको मृत्यु
मालारानीको कोटखोला नजिक मंगलबार  बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोलानेर ओरालोमा गति नियन्त्रण गर्न नसकी पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृत्यु हुनेमा गुर्भाकोट–८ मेहेलकुना खटांगका फत्तबहादुर विक, शशिराम विक र नारायण खत्री रहेको जिल्ला प्रहरी सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । 

श्रीदेवीको मृत्यु प्रकरण  


दुबई प्रहरीले भारतीय चर्चित अभिनेत्री श्रीदेवी कपूरको शव उनकोे परिवारलाई हस्तान्तरण गरेको छ । 

परिवारलाई मृत शरीर हस्तान्तरण गर्नुपूर्व उनको मृत्युको मुद्दा दुबई प्रहरीले बन्द गरेको जनाएको थियो । सुरक्षित राख्ने आवश्यक उपाय गरेपछि उनको शवलाई अन्तिम संस्कारका लागि भारत लगिने छ । 

भारतीय सिनेमा जगतमा पहिलो प्रख्यात नायिका श्रीदेवीको शनिबार राति दुबईको एक सुविधासम्पन्न होटेलको कोठाभित्र निधन भएको थियो । 

“दिवङ्गत भारतीय नायिका श्रीदेवीको निधन होटलको एक ‘वाथ टब’मा एक्कासी बेहोस भएपछि डुबेर भएको ठहरिएकोे छ, विधि विज्ञान परीक्षणपछि दुबई प्रहरीको मुख्यालयले सोमबार सार्वजनिक गरेको रिपोर्टलाई उद्धृत गर्दै दुबईको सरकारी सञ्चार संस्था ‘गल्फ न्यूज’ले उल्लेख गरेको छ ।” 

वलिउड नायिकाको पूरा नाम, राहदानी नं तथा निधन भएको मिति र मृत्युको कारण खुलाइएको विधिविज्ञान परीक्षण प्रतिवेदनमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारको स्वास्थ्य मन्त्रालयको छाप तथा दुबईको रोग निरोधक औषधि विभागका निर्देशक तथा वरिष्ठ चिकित्सक सामी वाडीको हस्ताक्षर रहेको छ । 

उनके पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन मानिसहरू श्रीदेवीको मुम्बईस्थित घरबाहिर व्यग्रताका साथ भेला भएका भारतीय टेलिभिजनले देखाएका छन् । 

कमेन्ट गर्नुहोस्