काठमाडौं, १६ फागुन — सोमवार एक अन्तर्वार्ताका क्रममा एप्पलका सहसंस्थापक स्टिभ वोज्नियाकले भारतीयहरू सिर्जनात्मक नहुने गरेको टिप्पणी गरेका छन् ।
उनले भने, ‘भारतीयहरूको एक मात्र उद्देश्य हुन्छ, राम्रो पढ्ने अनि त्यसैको आधारमा राम्रो जागिर खोज्ने ।’
सन् १९७६ मा वोज्नियाकले स्टिभ जब्ससँग मिलेर एप्पल स्थापना गरेका थिए ।
उनले अन्तर्वार्तामा थपे, ‘जागिर खाने चक्करमा सिर्जनात्मकता तथा इन्नोभेसनका लागि स्थान रहँदैन । जागिर पाउन नै भारतीयहरू ठूला ठूला कलेजबाट एमबीए गरिरहेका हुन्छन् । त्यसैले गर्दा त भारतमा गूगल, फेसबूक र एप्पल जस्ता ठूला कम्पनी छैनन् ।’
महिन्द्रा ग्रूपका आनन्द महिन्द्राले भने वोज्नियाको टिप्पणीको आलोचना गरेका छन् । ‘वोज्नियाकले भारत आएर हेरेमा उनको धारणा बदलिनेछ,’ उनले भने ।
त्यसो त ग्लोबल इन्नोभेसन इन्डेक्समा भारत १३० देशहरूमध्ये ६०औं स्थानमा छ । अनि ग्लोबल रिसर्च र डेभलपमेन्टमा १४औं स्थानमा छ ।
एजेन्सी