
जनकपुरधाम, १६ फागुन- प्रहरी सहायक निरीक्षकको परीक्षामा अनुत्तीर्ण भएका बेला ज्ञानेन्द्र यादवले सायदै सोचेका थिए होलान् कि कुनैदिन उनलाई त्यही प्रहरी संगठनको प्रमुखको रूपमा काम गर्ने सौभाग्य आउला भनेर । जनकपुर उपमहानगरपालिका– १९ जमुनियाका ज्ञानेन्द्रकुमार यादव प्रहरी संगठनमा जागिर गर्न चाहन्थे ।
कराँते र भलिबलका उत्कृष्ट खेलाडीसमेत भएका कारण जनकपुरको ख्याति प्राप्त राराब कलेजमा स्नातक तहको अध्ययन गरिरहेका बेला प्रहरी संगठनमा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा भ्याकेन्सी आह्वान गरिएको थियो ।
उनीसँगै उक्त कलेजका २१ जना विद्यार्थीहरू फारम भरेर विराटनगरस्थित प्रशिक्षण केन्द्रमा असई पदमा परीक्षा दिनका लागि पुगे । त्यहाँ लिइएको फिजिकल टेष्टमा ज्ञानेन्द्र प्रथम भए । विद्यार्थीकालदेखि नै लंग जम्प, हाइ जम्प लगायतमा उत्कृष्ट रहँदै आएकाले पनि उनलाई गाह्रो भएन । तर मेडिकल जाँचमा उनीलगायत अन्य केही उत्तीर्ण हुन सकेनन् ।
ज्ञानेन्द्र सम्झिन्छन्, ‘अचम्म त के भएको थियो भने जनकपुरबाटै गएका हाम्रा साथीहरूमध्ये सबैभन्दा कमजोर रहेको लालबाबु यादव मेडिकल जाँचमा पास भयो, र हामी राम्रा विद्यार्थीहरूलाई फेल गरियो । जब कि म लगायत अन्य साथीहरू के ढुक्क थियौं भने हामी पास हुन्छौं ।’
त्यसपछि उनीहरूले प्रशिक्षण केन्द्रमा पुगेर विरोध जनाए । पक्राउ गरेर थुनामा राख्ने प्रयास पनि भयो । अन्तमा सम्झाएर फिर्ता पठाइयो । प्रहरीमा मधेसीको संख्या एकदमै कम रहेकाले आफू जाँदा अन्यका लागि पनि बाटो खुल्छ भन्ने सोचेर भर्ति हुन गएका ज्ञानेन्द्रले त्यसपछि सरकारी जागिर नखाने अठोट गरे ।
समयले उनलाई राम्रै साथ दियो । अहिले उनै ज्ञानेन्द्र यादव प्रदेश नम्बर २ मा प्रहरी संगठनसमेतको नेतृत्व गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री (संघीय सरकारका गृहमन्त्रीको जस्तै भूमिका) बन्न सफल भएका छन् ।
यादव प्रदेशको शान्ति सुरक्षा बलियो बनाउन आफ्नो प्राथमिकता रहने बताउँछन् । ‘यो प्रदेशमा बाँकी प्रदेशहरूको तुलनामा शान्ति सुरक्षाको अवस्था अलि बढी नै संवेदनशील भएका कारण शान्ति व्यवस्था कायम गर्नु मेरो पहिलो प्राथमिकता रहने छ,’ उनले भने ।
साथै यादव प्रदेश २ लाई सुशासनको नमूना प्रदेश बनाउन कसैसँग पनि सम्झौता नगर्ने बताउँछन् ।
को हुन् ज्ञानेन्द्र यादव?
१५ वैशाख २०३२ सालमा जन्मिएका यादव विद्यार्थी जीवनदेखि नै राजनीतिसंग जोडिएका थिए । २०४७ सालमा गाउँकै ठेराकचुरी माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी जनकपुरस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रराब कलेजबाट २०५० सालमा आइएस्सी, २०५६ सालमा समाजशास्त्रमा स्नातक तहसम्मको शिक्षा प्राप्त गरेका छन् ।
जब उनी गाउँको विद्यालयमा पढिरहेका थिए त्यतिबेलै २०४५ सालमा नेविसंघको विद्यालय इकाई कमिटीका अध्यक्ष भएका थिए । उच्च शिक्षा अध्ययनका लागि राराब कलेजमा पुगेपछि अध्ययनसंग–संगै विद्यार्थी राजनीतिमा पनि सक्रिय भए ।
२०५१ सालमा स्वतन्त्र उम्मेदवार बनेर उक्त कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) उपसभापतिमा निर्वाचित भए । २०५३ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीका अध्यक्ष बने । २०५४ सालमा अनेरास्ववियुको धनुषा अध्यक्ष, २०५४ सालमा स्ववियु काउन्सिलको केन्द्रीय कोषाध्यक्ष, २०५४ सालमा नै अनेरास्ववियुको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यसम्म निर्वाचित भए ।
राराब कलेजमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिमा समेत उनी निर्वाचित भए । स्ववियु सभापति भएपछि कलेजमा थुप्रै राम्रा कामहरू उनले गरे । उनकै कार्यकालमा राराब कलेजमा पहिलोपटक अंग्रेजी विषयमा स्नातकोत्तर, विज्ञान संकायमा गणित विषयको स्नातकोत्तरको पढाइ शुरु भयो । त्यसअघि मैथिली र हिन्दी विषयमा मात्र स्नातकोत्तरको पढाइ हुन्थ्यो ।
विद्यार्थीहरूको लागि साइकल स्ट्याण्ड, कलेज परिसरभित्र पक्की सडकको निर्माण, कार्यक्रम आयोजन गर्न स्थायी मञ्चको निर्माण, नया लाइब्रेरी भवन निर्माण, गल्र्स कमन रूमको पहिलोपटक व्यवस्थापन, क्यान्टिन व्यवस्थापन, लाइब्रेरीमा ७ लाख रुपैयाँको पुस्तक खरिद लगायत विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजन गरेका थिए ।
२०५९ सालसम्म एमाले पार्टीमा संगठित सदस्यको रूपमा क्रियाशील रहेका यादवले पार्टी परित्याग गरी समाज उठान युवा केन्द्र नामक गैरसरकारी संस्था स्थापना गरेर समाज सेवामा सक्रिय भए । विभिन्न गाउँहरूमा उक्त संस्थामार्फत सडक निर्माण, नहर निर्माण लगायत विकास पूर्वाधार निर्माणका साथसाथै जनचेतनामूलक कार्यक्रमहरू गर्न थाले ।
२०६३ सालको मधेश आन्दोलनपछि मधेशी जन अधिकार फोरममा आवद्ध भई पुनः राजनीतिमा सक्रिय भए । २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा धनुषा क्षेत्र नम्बर ५ बाट सभासद्का लागि फोरमबाट चुनाव लडे पनि नेपाली कांग्रेसका डा. चन्द्रमोहन यादवसँग पराजित भएका थिए । तर अहिले सम्पन्न भएको प्रदेशसभा निर्वाचनमा धनुषाको क्षेत्र नम्बर ४ (१) बाट चन्द्रमोहनलाई नै निरास बनाउँदै प्रदेश सांसद बन्न सफल भए ।
यादवको पहिचान खेलागीको पनि छ । उनी भलिबल र कराँतेका राष्ट्रिय खेलाडी हुन् ।