
काठमाडौं, १६ फागुन — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन र उनका पिताले विदेशी दूतावासबाट यात्रा अनुमति लिनका लागि ब्राजिली राहदानी (पासपोर्ट) बनाएको कुरा पहिलोपल्ट खुलासा भएको छ ।
राहदानीहरूको श्यामश्वेत स्क्यानमा किम जोङ–इल र किम जोङ–उनका वास्तविक तस्वीरहरू देखिएका छन् । सन् १९९६ को फेब्रुअरीमा प्रागस्थित ब्राजिल दूतावासले उक्त राहदानीहरू जारी गरेको थियो ।
जोङ–उनले स्विट्जरल्यान्डमा उत्तर कोरियाली दूतावासका वाहनचालकको गलत पहिचान लिएर पढेको मानिन्छ । ब्राजिली राहदानीमा किमको नाम जोसेफ प्वाग राखिएको छ । राहदानीमा उनको जन्म सन् १९८३ को फेब्रुअरी १ मा भएको लेखिएको छ ।
किम जोङ–इलसँग भएको राहदानी इजोङ चोईको नाममा जारी गरिएको छ । राहदानीमा उनको जन्मस्थान साओ पाओलो अनि उनको जन्ममिति सन् १९४० को अप्रिल ४ लेखिएको छ तर उनको खास जन्ममिति सन् १९४१ को फेब्रुअरी १६ हो । 
रोयटर्स समाचार संस्थाले पश्चिमा सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै ती नक्कली राहदानी धेरैपल्ट प्रयोग गरिएको दाबी गरेको छ । पश्चिमका दुई देशमा प्रवेशाज्ञा (भिसा) लिनका लागि अनि जापान, ब्राजिल र हङकङमा यात्रा गर्नका लागि राहदानीहरूको प्रयोग गर्न खोजिएको उल्लेख छ ।
तर यस्तो छलछाम गरेपनि उनीहरूले प्रवेशाज्ञा पाएनपाएको विषयमा केही प्रस्ट छैन ।
ब्राजिलको विदेश मन्त्रालयले यी कागजातको वास्तविकताका सम्बन्धमा अनुसन्धान शुरू गरेको छ । दुवै राहदानीमा दूतावास अधिकारी एन्टोनियो जे एम डी सूजा ए सिल्भाले हस्ताक्षर गरेका छन् ।
ब्राजिलको ग्लोबो पत्रिकाका अनुसार, त्यो नामको व्यक्तिले चेक गणतन्त्रको दूतावासमा सन् १९९३ देखि १९९७ सम्म काम गरेका थिए र उनी अहिले म्यान्मारका लागि ब्राजिलका दूत हुन् ।
ब्राजिलस्थित उत्तर कोरियाको दूतावासले यससम्बन्धमा कुनै टिप्पणी गरेको छैन ।
एजेन्सी