
काठमाडौं, २० फागुन– नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि निर्वाचन हुने भएको छ । संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
सोमवार हुने संसदीय दलको निर्वाचनका लागि आइतवार अपराह्न मनोनयन दर्ता भएको छ । शभापति देउवा र केन्द्रीय सदस्य सिंहले संसदीय दलको नेताका लागि मनोनयन दर्ता गराएका हुन् ।
देउवाले नेता विजयकुमार गच्छदारको प्रस्ताव र मानबहादुर विश्वकर्माको समर्थनमा उम्मेदवार दर्ता गराएका हुन् । देउवाले नेता बालकृष्ण खाँडलाई वारेशनामा दिएर संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै प्रकाशमान सिंहले कोषाध्यक्ष तथा सांसद सितादेवी यादवको प्रस्ताव र सांसद सञ्जयकुमार गौतमको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसमा संसदीय दलको नेता चयनका लागि आइतबार बेलुकी ६ बजेदेखि साढे ७ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । यस्तै, सवा ८ बजेसम्म दाबी विरोधमाथि जाँचबुझ गरी नामावली प्रकाशन र सोमवार (फागुन २१ गते) सवा ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।
उम्मेदवारले नाम फिर्ता लिने समय सोमवार बिहान सवा ८ बजेसम्मका लागि तोकिएको छ । सोमबार बिहान साढे ८ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र बिहान १० देखि दिउँसो १ बजेसम्म मतदान हुने छ ।