२५ जेठ २०८३, सोमबार

उपचारका क्रममा महिलाको मृत्यु प्रकरण : दोषीलाई कारबाही गर्ने सहमति

फागुन २०, २०७४
उपचारका क्रममा महिलाको मृत्यु प्रकरण : दोषीलाई कारबाही गर्ने सहमति

महेन्द्रनगर, २० फागुन–  महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी भीमदत्त नगरपालिका–११ की कलावति सार्कीका आफन्तले मृत्युको छानवीन गरी दोषीलाई कारबाही गर्ने सहमतिपछि शव बुझेका छन् । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा मृतक सार्कीका आफन्त र महाकाली अञ्चल अस्पतालका प्रशासनबीच छानबिन गरी कारबाही गर्ने सहमतिपछि शव बुझेका हुन् । 

चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको जनाउँदै मृतकका आफन्तले शनिबारदेखि शव आकस्मिक उपचार कक्षमा राखेर आन्दोलनमा उत्रिएका थिए । शनिबार दिनभरि समाधानका लागि छलफल गरिएको थियो ।

महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी मेडिकल रेकर्डर केशवदत्त अवस्थीले प्रशासन कार्यालयमा दुबै पक्षबीच सहमति भएपछि आफन्तले शव बुझेको बताए ।

प्रशासन कार्यालयमा मृतकका परिवारलाई किरिया खर्चबापत नगद २५ हजार दिने, सेती अञ्चल अस्पतालका चिकित्सकबाट शव जाँच गराउने र छानवीन प्रतिवेदनका आधारमा संलग्न स्वाथ्यकर्मी र चिकित्सकलाई कारबाही गर्ने र छानवीनका लागि ७ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ ।

सहमतिपछि मृतकका आफन्तले दिउँसो शव बुझेका छन् । एक साता अघि अञ्चल अस्पतालमा पाठेघरको शल्यक्रिया गराएकी ४० वर्षिय सार्कीको छातीमा समस्या देखिएपछि शुक्रबार राति अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका आकस्मिक उपचार कक्षका स्वास्थ्यकर्मीले चिकित्सकलाई जानकारी नदिएपछि विहान मात्रै जाँच गरिएको थियो । चिकित्सकले जाँच गर्दा उनको मृत्यु भई सकेको थियो । त्यसपछि उनलाई मृत घोषणा गरिएको थियो ।

मृतकका आफन्तले स्वास्थकर्मीलाई डाक्टर बोलाई दिन आग्रह गर्दा चाहिएको बेला सेवा नपाइने भन्दै उनीहरुले आलटाल गरेका थिए । शुक्रवार राति डुयूटीमा रहेका सबै स्वास्थ्यकर्मी छानवीनमा तानिएका छन् । 

उनीहरुले जाँच गरी रगत दिनु पर्ने जनाउँदै राति नै मगाए पनि अन्तिममा फिर्ता गरि दिएका थिए । शनिवार विहान डाक्टरले मृत घोषणा गरेपछि आफन्त र स्थानीय नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका थिए । त्यसपछि अस्पताल विकास समितिका अध्यक्ष कार्यक्रक्षमा दुबै पक्षबीच छलफल गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्