काठमाडौं, २१ फागुन– नयाँ संविधान निर्माणको अन्तिम चरणमा मधेसकेन्द्रित दलले संविधानसभा बहिष्कार गरी मधेसमा आन्दोलन, नाकाबन्दी र संविधान बहिष्कारको घोषणा गरेका थिए। उक्त आन्दोलनको प्रमुख नेतृत्वकर्ता थिए, राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर ।
सौभाग्य वा समयको नियति, तिनै महन्थले आइतबार राष्ट्रपतिबाट संविधानको वफादारिताको शपथ खाए र अरू सांसदलाई पनि खुवाए । शपथग्रहण समारोहमा सांसदहरू आ–आफ्नो सांस्कृतिक र जातीय पहिरनमा सहभागी भएका थिए ।
प्रतिनिधिसभा निर्वाचनको तीन महिनापछि प्रतिनिधिसभा र राष्ट्रियसभाका निर्वा्चित सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् । संघीय संसद् सचिवालयले संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको विशेष समारोहमा ज्येष्ठ सदस्यका हैसियतले राजपा नेता महन्थ ठाकुरले सांसदलाई शपथ गराए ।
नागरिकतामा महन्थभन्दा राजपाकै अर्का नेता महेन्द्र यादव पाँच वर्ष जेठा भेटिएका थिए । ७५ वर्षीय पाका राजनीतिज्ञ महन्थभन्दा महेन्द्रको उमेर बढी भएको समाचार सार्वजनिक भएपछि नैतिक रूपमा पनि उनलाई अप्ठ्यारो परेको थियो । संघीय संसद् (प्रतिनिधिसभा÷राष्ट्रियसभा) को अधिवेशन सोमबार सुरु हुँदै छ ।
देउवा आउँदा कांग्रेस सांसद उठे
शपथ समारोहमा सबैभन्दा पछि संसद् हलमा प्रवेश गरेका थिए, कांग्रेस सभापति शेरबहादुर देउवा । कांग्रेसमा संसदीय दलको नेता विवाद भइरहँदा आइतबार शपथ समारोहमा भने रोचक दृश्य देखा प¥यो। देउवा हलमा प्रवेश गर्दा कांग्रेसका सबै सांसद आ–आफ्नो स्थानमा उठेर सम्मान गरेका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।