
काठमाडौं, २१ फागुन- अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०७४÷०७५ को अर्धवार्षिक समीक्षाको तयारी गरेको छ ।
चालू आर्थिक वर्षको बजेटको खर्चको अवस्था तथा विकास निर्माणसँगै मुलकका अर्थतन्त्रको सूचकको अवस्थासहित समीक्षाको तयारी अन्तिम चरणमा पुगेको अर्थमन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता अर्जुन पाखरेलका अनुसार यसै साता अर्धवार्षिक समीक्षा हुनेछ ।
यसैबीच अर्थमनत्रालयले अर्थतन्त्रको यथार्थ चित्रण र आगामी योजना समेटेर श्वेतपत्र जारी गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको निर्देशनमा मन्त्रालयले लामो समयदेखि मुलुकको आर्थिक अवस्था जर्जर भएको यथार्थ चित्रण गर्ने श्वेतपत्रको तयारी गरिरहेको अधिकारीहरुले बताएका छन् ।
मन्त्रालय स्रोतकाअनुसार श्वेतपत्रमा आगामी ५ वर्षमा वामपन्थी सरकारले गर्ने कामका योजनासमेत प्रष्ट आउनेछन् ।
अर्थतन्त्रका जानकार व्यक्ति अर्थमन्त्रीमा नियुक्त भएका बेला अर्थतन्त्रको यथार्थ रूप देखाउन श्वेतपत्र जारी गर्नुपर्ने विश्लेषकहरूले समेत माग राखेका बेला अर्थमन्त्रीले तयारी अगाडि बढाउन निर्देशन दिएका हुन् ।
यसअघि केपी ओलीकै नेतृत्वमा रहेको सरकारले २०७२ सालमा समेत श्वेतपत्र जारी गरेको थियो ।