
पाँचथर, २१ फागुन-पाँचथरको फिदिम नगरपालिका वडा नम्बर– ३ की गंगामाया सुनुवार हराएको भन्दै खोजीका लागि उनका श्रीमान डिकबहादुर सुनुवारले प्रहरीमा उजुरी दिए ।
उजुरी परेपछि घटनाको अनुसन्धान थालेको प्रहरीले उजुरीकर्ता डिकबहादुरकै गतिविधि शंकास्पद् रहेको पायो । त्यसपछि आइतबार उनलाई नियन्त्रणमा लिई सोधपुच गरियो । सोधपुछका क्रममा डिकबहादुरले आफूले श्रीमतीको हत्या गरेको स्वीकारे । त्यसपछि शव राखेको ठाउँ पनि जानकारी दिए ।
प्रहरी टोलीले डिकबहादुरले भनेकै ठाउँमा पुगेर उत्खनन् गर्यो, गंगामायाको कंकाल त्यहीँ फेला पर्यो ।
प्रहरीका अनुसार ६१ वर्षीय डिकबहादुरले गत फागुन ५ गते राति श्रीमतीको विभत्स हत्या गरी आलुबारीमा शव पुरेका थिए । त्यसपछि बच्न खोजीका लागि भन्दै प्रहरीमा उजुरी दिएको खुलेको छ ।
मृतकको शव पोस्टमार्टम गरी दाहसंस्कार गरिएको छ ।
आरोपी डिकबहादुरलाई पाँचथर जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।