
धनगढी, २१ फागुन– प्रदेश नं. ७ को सुरक्षाको लागि भन्दै १८ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरिएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले धनगढीमा आज पत्रकार सम्मेलन गर्दै १८ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।
आधुनिक सूचना प्रबिधियुक्त स्वचालित कार्यप्रणाली लागू गरिने, मन्त्रालयहरुको आफ्नै बेबसाइटको व्यवस्था गरी सूचना प्रवाहको व्यवस्था मिलाउने, गृहमन्त्रीसँग जनताले सिधै सम्पर्क गर्न सकिने व्यवस्था मिलाउने जनाइएको छ ।
प्रतिवद्धतापत्रमा प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेका कानून निर्माणको लागि कानून तर्जुमा मस्यौदा समिति गठन गरिने, प्रदेश आन्तरिक सुरक्षा नीतिको अवधारणापत्र तयार गर्न कार्यदल गठन गरिने, शान्ति सुरक्षाका लागि पाश्र्वचित्र तयार गर्ने, सुदृढ शान्ति सुरक्षा, प्रदेश समृद्धिको आधार भन्ने अभियानका साथ शान्ति सुरक्षाको व्यवस्था मिलाउने, संवेदनशिल क्षेत्रमा सिसिटिभीको व्यवस्था गर्ने, सामाजिक सद्भाव तथा सुरक्षामा खलल पुर्याउने कार्यलाई निरुत्साहित गर्ने लागयत उल्लेख गरिएको छ ।
त्यस्तै मन्त्री शाहले प्रदेश ७ सँग जोडिएका अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा यात्रुहरुको सुरक्षाका लागि निगरानी सहायता कक्षको व्यवस्था गर्ने बताउँदै प्रतिवद्धता कार्यान्वयन एक मिहनाभित्रै हुने बताए ।