
काठमाडौं, २२ फागुन- प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारमा ल्याउन पहल थालेका छन्। यसका लागि प्रधानमन्त्री ओलीले आइतबार र सोमबार दुई पटक राजपा अध्यक्ष महन्थ ठाकुरलगायत राजपा नेतृत्वसँग छलफल पनि गरे।
संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरिरहेको सरकारले आइतबार र सोमबार राजपालाई पनि सरकारमा आउन पहल थालेको हो। ओली नेतृत्वको सरकारमा जाने-नजाने विषयमा निर्णय लिने जिम्मेवारी राजपाले अध्यक्ष ठाकुरलाई दिएको छ।
राजपालाई पनि सरकारमा सहभागी गराएर ओली शक्तिशाली सरकारका प्रधानमन्त्री बन्ने रणनीतिअनुरूप छलफल गरेका हुन्। फोरम-राजपा दुवै दललाई दुई-दुईवटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको स्रोतले दाबी गरेको छ।
राजपा अध्यक्ष मण्डलका नेता शरत्सिंह भण्डारीले प्रधानमन्त्री ओलीले आफूहरूलाई सरकारमा आउन आग्रह गरेको पुष्टि गरे, अन्नपूर्ण पोस्टमा खबर छ ।