
काठमाडौं, २२ फागुन — भारतको पूर्वोत्तर क्षेत्रमा रहेको त्रिपुरा राज्यमा भारतीय जनता पार्टीको जीतपछि कैयौं जिल्लामा हिंसा भड्किएको छ ।
वामपन्थी स्मारकहरूलाई धमाधम ध्वस्त पारिएको खबर छ । भाजपा समर्थकहरूले दक्षिण त्रिपुराको बेलोनियामा रहेको रुसी क्रान्तिनायक भ्लादिमिर लेनिनको मूर्तिमा बुलडोजर चलाएका छन् ।
बुलडोजर चलाएका तस्वीरहरू सामाजिक सञ्जालमा खुबै शेयर गरिएका छन् । हिंसा भड्किँदा अनि मूर्ति ध्वस्त पारिँदा वामपन्थी दलहरू क्रोधित भएका खबर आएका छन् ।
त्रिपुरामा हिंसा भएपछि केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले मंगलवार राज्यका राज्यपाल तथा डीजीपीसँग कुरा गर्दै नयाँ सरकारले कामकाज नसम्हाल्दासम्म राज्यमा शान्ति सुनिश्चित गर्नुपर्ने आग्रह गरेका छन् ।
शनिवार विधानसभा मतपरिणाम घोषणा गरेपछि त्रिपुराका विभिन्न भागमा प्रतिद्वन्द्वी राजनीतिक समूहहरूका बीच हिंसा र संघर्ष भएका छन् ।
चुनावले त्रिपुरामा २५ वर्षदेखि शासन चलाइरहेको कम्युनिस्ट पार्टीलाई ध्वस्त पारिदिएको छ । गठबन्धन साझेदार आईपीएफटीसँग मिलेर भाजपाले त्रिपुरामा दुई तिहाइ बहुमत ल्याएको छ ।
एजेन्सी