
काठमाडौं २२ फागुन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सधैभरी मध्यविन्दु (केन्द्रविन्दुमा) रहेको भन्दै रचनात्मक भूमिका खेल्ने बताएका छन् । मंगलवार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै प्रचण्डले आफू २०४६ सालपछि नै केन्द्रविन्दुमा रहेको बताए ।
‘म मध्यविन्दुमा परेछु, म भन्दा पहिले दुई जना नेताले बोल्नु भयो, म पछि पनि दुईजना बोल्नु हुँदैछ,’ प्रचण्डले संसद बैठकमा भने, ‘भाग्य र कर्म त्यस्तै रहेछ, सधै केन्द्र विन्दुमा ।’ उनले सकारात्मक र नकारात्मक जे भएपनि २०४६ सालपछि आफू केन्द्र बिन्दुमा परेको टिप्पणी गरे ।
प्रचण्डले राजनीतिक क्रान्तिको समय सकिएको भन्दै विकास, समृद्धि र सुशासनको लडाइँ शुरु भएको बताए । ‘हिजोजस्तो पदका लागि जस्तोसुकै कदम चाल्ने पुरानो तरिकाबाट मुक्त भएर राष्ट्रनिर्माणको संकल्प गर्न जरुरी छ,’ प्रचण्डले भने ।