
ललितपुर, २५ फागुन– महालक्ष्मी नगरपालिकाको सानागाउँ देवननी टोलमा तीन पैसा क्षेत्रफलमा बनेको संगीतमान नेमकुलको घर ०७२ सालको भूकम्पले जीर्ण बनेको छ ।
उनी चर्किएको घरमा बस्नुभन्दा नयाँ घर बनाउन चाहन्छन् । तर, थोरै जग्गा भएका कारण क्षेत्रफल नपुगेर नक्सा पास नहुने चिन्ता छ उनलाई । ‘भूकम्पपछि नयाँ घर बनाऊँ भनेको नक्सा पासले निकै अप्ठ्यारो पारेको छ,’ नेमकुल भन्छन् ।
सानागाउँमा मात्रै भूकम्पबाट पीडित बनेका आठ सय घरधुरी नक्सा पासका कारण मर्कामा परेका छन् । सानागाउँस्थित ६ नम्बर वडाका अध्यक्ष बाबुदेव महर्जनले थौरै जग्गामा घर रहेका आठ सयभन्दा बढी घरधुरी समस्यामा रहेको बताए। उनले भने, ‘नक्सा पास गर्नु टाउको दुखाइ बनेको छ।’
पुरानो बस्ती भए पनि नगरपालिकाको मापदण्डअनुसार नपरिने डरले स्थानीय नक्सा पास गराउन चाहँदैनन् । वडा ६ मा अहिलेसम्म ८४ वटा घर निर्माण भइसके पनि नक्सा पास नभएको वडाध्यक्ष महर्जनले स्विकारे। जनप्रतिनिधि भएका कारण आफूले नक्सा पासका लागि प्रयास जारी राखेको भनाइ महर्जनको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।