
काठमाडौं, २६ फागुन– उत्तर कोरियासँगको वार्ताका लागि अमेरिकाले सर्त अगाडि सारेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको बहुचर्चित भेटवार्ताका लागि अमेरिकाले सर्त ल्याएको हो ।
भेटवार्ता गर्नुअघि केही ठोस कदम उत्तर कोरियाले चाल्नुपर्ने सर्त अमेरिकाले अघि सारेको हो । अमेरिकी उपराष्ट्रपति माइक पेन्सीले उत्तर कोरियाले आणविक कार्यक्रम स्थगित गरेपछि मात्र राष्ट्रपति ट्रम्पले भेटवार्ता गर्ने बताएका छन् ।
ह्वाइट हाउसका प्रवक्ता सेरा सेन्डर्सले पत्रकार सम्मेलन गर्दै उत्तर कोरियाले यसअघि गरेका प्रतिबद्धता पूरा नगरेसम्म राष्ट्रपति ट्रम्पसँग भेटवार्ता नहुने बताए । तर उनले उत्तर कोरियाले कस्ता प्रतिबद्धता पूरा गर्नुपर्ने र के कदम चाल्नुपर्ने भन्ने स्पष्ट पारेनन् ।