
जनकपुरधाम, २६ फागुन-१९ फागुन २०७४ मा जनकपुरमा होली पर्व मनाइँदै थियो । सबैले रमाइलो गरिरहेका थिए । तर त्यही दिन सवारी दुर्घटनामा परेर दुई युवाको ज्यान गयो ।
होलीको दिन युवाहरू प्रायःजसो अत्यधिक मदिरा सेवन गरी द्रुत गतिमा मोटरसाइकल चलाउने गर्छन् । त्यही क्रममा १९ फागुनकै दिन धनुषाको ढल्केबर–जनकपुर सडकखण्डस्थित लक्ष्मिनियाँमा ढल्केवर जाँदै गरेको ज ९ प ४४८९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ४९ प ५५१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भयो ।
जनकपुर उपमहानगरपालिका– १४ बस्ने वर्ष ३० का प्रविनकुमार राउत र जनकपुर– १९ बस्ने वर्ष २२ का कृष्ण साहको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।
त्यसैगरी सोही दिन जनकपुर उपमहानगरपालिका–७ स्थित जनकपुर मुजेलिया सडक खण्डको भ्रमरपुरा चौक तिर बर्ण नखुलेको ५९५१ नम्बरको स्कार्पियोले ज९प १२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइइकल चालक जनकपुर उपमहानगरपालिका ७ बस्ने वर्ष ३० का अहमद अली गम्भीर घाइते भए । दाहिने खुट्टा भाँचिएका अलीको जनकपुर अञ्चल अस्पतालमा उपचार हुँदैछ । उनीसँगै जनकपुरका ३४ वर्षीय दिपेन्द्र कुमार साह पनि घाईते भए ।

फागुन २१ गते ट्रिपरको ठक्करबाट धनुषामा एक शिक्षकको ज्यान गयो । द्रुतगतिमा रहेको ज १ क २९३ नम्बरको ट्रिपरको ठक्करले बटेश्वर गाउँपालिका–२ भुचक्रपुरको राष्ट्रिय प्राथमिक विद्यालय रमौली टोलका शिक्षक ५० वर्षका हरिनारायण यादवको घटनास्थलमै मृत्यु भयो ।
यसरी हेर्ने हो भने प्रदेश नं.२ को राजधानी जनकपुरमा हरेक महिनामा सवारी दुर्घटना हुने र दुर्घटनामा परी प्रायःजसो मानवीय क्षति हुने गरेको छ । चालु आर्थिक वर्ष २०७४/०७५ को फागुन २१ गतेसम्ममा मात्रै धनुषा जिल्लामा कुल ९८ वटा सवारी दुर्घटना भएका छन्, जसमा परेर कुल ३६ जनाको मृत्यु भएको छ । जसमध्ये ३ जना महिला र ३३ जना पुरुष रहेका छन् । दुर्घटनामा परेर १ सय २१ जना घाइते भएका छन् । जसमध्ये ९३ जना पुरुष, २१ जना महिला र ७ जना बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको तथ्याङ्क छ ।
चालु आर्थिक वर्षमा साउन महिनामा ३ जना, भदौ महिनामा २ जना, असोज महिनामा ५ जना, कार्तिक महिनामा ३ जना, मंसिर महिनामा ३ जना, पुष महिनामा ३ जना, माघ महिनामा १० जना र फागुन २१ सम्म ७ जनाको सवारी दुर्घटनामा परी मृत्यु भइसकेको छ ।
आर्थिक वर्ष २०७१/०७२ मा १ सय २६ थान सवारी दुर्घटना भएकोमा ५२ जनाको मृत्यु ७१ जना गम्भीर घाइते भएका थिए । त्यसैगरी आर्थिक वर्ष २०७२/०७३ मा १ सय ५ थान सवारी दुर्घटना भएकोमा ४६ जनाको मृत्यु ६० जना गम्भीर घाइते भएका थिए । आर्थिक वर्ष २०७३/०७४ मा १ सय थान सवारी दुर्घटना भएकोमा ६५ जनाको मृत्यु ३४ जना गम्भीर घाइते भएका थिए । यसरी हेर्ने हो भने विगत ४ वर्षमा धनुषामा मात्रै कुल १ सय ९९ जनाको मृत्यु सवारी दुर्घटनाकै कारण भइसकेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी हवल्दार शंकरप्रसाद अधिकारीका अनुसार धनुषामा हुने गरेको सवारी दुर्घटनामध्ये ७० प्रतिशत जति राजमार्गमा र ३० प्रतिशत ग्रामिण क्षेत्रमा हुने गरेको छ । सबैभन्दा बढी मोटरसाइकल, ट्याक्टर र टिप्पर दुर्घटना भइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक हरिनन्दन चौधरीका अनुसार सवारी दुर्घटना हुनुमा सवारी चालकको लापरवाही, तीव्र गतिमा गाडी गुडाउनु, सडकमा डिभाइडर नहुनु, सडकमा कतिपय ठाउँमा खाल्डो हुनु, सडकमा छाडा चौपायाहरु हुनुजस्ता प्रमुख कारणहरु रहेका छन् । दुर्घटना न्यूनिकरण गर्नका लागि स्पिड कन्ट्रोल अभियान चलाइनुका साथसाथै विभिन्न किसिमका ट्राफिक सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरू पनि नियमित रुपमा सञ्चालन गर्दै आएका छौं, प्रहरी निरीक्षक चौधरीले भने, ‘सवारी दुर्घटना न्यूनिकरण एक्लै ट्राफिक प्रहरीको प्रयासले सम्भव हुँदैन । सम्बन्धित अन्य सरोकारवाला पक्षहरूले पनि ध्यान दिनु जरुरी छ ।’
टिप्परलाई ‘टाइम कार्ड’
ढल्केबरदेखि जनकपुरसम्म अत्यधिक गतिमा हुइँक्याउने टिप्पर चालकहरूको लापरबाहीका कारण धनुषामा सडक दुर्घटना बढेपछि यसकाविरुद्ध ट्राफिक प्रहरी खरो उत्रिएको छ । अब जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले टिप्पर चालकलाई लगाम लगाउन टाइम कार्ड लागू गरेको छ ।

२२ फागुन देखि जनकपुर ढल्केवर सडकखण्डमा गुड्ने ट्रिपरहरुमाथि प्रहरीले कडा नजर लगाएको छ । उसले टिप्परको गति नियन्त्रण गर्न टाइम कार्डबाट तय गर्नु पर्ने दुरी तोकेको छ । ढल्केबर–जनकपुर सडकखण्डस्थित मुजेलियामा ट्राफिक प्रहरीले टाइम कार्ड लागूका लागि डेस्क स्थापना गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी चक्रबहादुर सिंहले टिप्परलाई टाइम कार्ड दिएर यो नियम कार्यान्वयनमा ल्याएका हुन् ।
ट्राफिक प्रहरीले टिप्परको गति नियन्त्रण गर्न लगाएको नयाँ निमयअनुसार अब खाली टिप्पर जनकपुरबाट ढल्केबर जान अथवा आउन एकतर्फीरूपमा कम्तिमा एकघण्टा लागाउनु पर्नेछ । त्यस्तै निर्माण सामग्री लोड टिप्पर एकतर्फी आउन अथवा जान डेढघण्टा समय लाग्नुपर्ने धनुषाका ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरी बताउँछन् ।
‘यदि तोकिएको समयभन्दा चाँडै टिप्पर जनकपुर अथवा ढल्केबर पुगेमा तीव्र गतिमा गाडी चलाएको कसुरमा हदैसम्मको कारबाही गर्छौं,’ ट्राफिक प्रहरी प्रमुख चौधरीले भने, ‘ यदि बीचबाटोमै अत्यधिक गतिमा ट्रिपर चलाउँछ भने हामीलाई खबर गर्नुस्, हामी कारबाही गर्छौँ ।’
यो नियम बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म लागू गरिएको छ । टिप्पर चालकहरूलाई मालिकले समयानुसारको मासिक तलब नदिने र टिपपिच्छे प्रतिटिप ५ सय रुपैयाँ भत्ता दिने गर्छन् । तलब कम हुनु र घरपरिवारलाई पाल्नु पर्ने बाध्यताका कारण धेरैभन्दा धेरै टिप लगाएर अधिक भत्ता कमाउने गर्दछन् । जसका कारण द्रुत गतिमा टिप्पर चलाउँदा दुर्घटना बढेको छ ।
अत्यधिक गतिमा टिप्पर कुदाउँदा सडक दुर्घटना भएर मानवीय क्षति बढेपछि सर्वसाधारण चिन्तित बनेका थिए । बाटो हिँड्ने बटुवा, साइकल चालक, मोटरसाइकल चालकलगायत साना सवारीसाधनलाई गन्तव्यमा पुग्न समस्या हुने गरेको थियो । टाइम कार्डको लागू भएसंगै सडक यात्रा सहज हुने सर्वसाधारणले विश्वास लिएका छन् ।