
काठमाडौं, २६ फगुन- देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक अस्पतालका दुई चिकित्सक निलम्बित हुने भएका छन् ।
नेपाल मेडिकल काउन्सिलले नर्भिक अस्पतालका डा. प्रविण नेपाल र डा. शैलज रञ्जितकारलाई एक महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो । काउन्सिलको इथिकल कमिटिले गरेको छानबिनका क्रममा दुवै डाक्टर दोषि देखिएकाले निलम्बन गर्न लागिएको स्रोतले लोकान्तरलाई बतायो ।
‘सञ्चार माध्यममा सुनिएको समाचारको आधारमा मेडिकल काउन्सिलले घटनाको विषयमा अध्ययन गरेको थियो । दुवै चिकित्सकहरूले समाचारमा आएअनुसार घटनाको बारेमा बताएका थिए,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘कमिटीले उनीहरुलाई दोषी ठहर गरेको छ, भोलि सार्वजनिक सूचना जारी गरेर निलम्बन गरिँदै छ ।’
चितवनकी बिन्दु पौडेलको लिगामेन्ट च्यातिएको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा भुलवश दाहिने घुँडाको शल्यक्रिया गरिएको भन्दै शल्यक्रियामा संलग्न डा. प्रविण नेपाल र डा. शैलेज रञ्जितकारले परिवाससँग गल्ती स्वीकार गरिसकेका छन् । काठमाडौंको नर्भिक अस्पतालले चितवनकी बिन्दु पौडेलको शुक्रबार शल्यक्रिया गरेको थियो ।
बिरामीका आफन्तसँग पौडेलको दुवै खुट्टाको निःशुल्क उपचार गर्ने, विज्ञ चिकित्सकका आधारमा सबै उपचार अस्पतालले गरिदिने र बिरामीको घुँडाको उपचार नेपालमा सम्भव नभए विदेश लगेर गर्ने र खर्च अस्पतालले ब्यहोर्ने सहमति अस्पतालले गरेको थियो ।