३१ असार २०८३, बुधबार

तिलोत्तमा नगरपालिकाले स्थानीय कानून प्रधानमन्त्रीलाई बुझायो

फागुन २६, २०७४
तिलोत्तमा नगरपालिकाले स्थानीय कानून प्रधानमन्त्रीलाई बुझायो

तिलोत्तमा, २६ फागुन– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नगरपालिकाको राजपत्र हस्तान्तरण गरेको छ । 

स्थानीय कानूनको संगालो बुझाउन तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरे, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, कार्यपालिका सदस्य तथा प्रवक्ता सुरेन्द्र श्री, प्रेस सल्लाहकार बीपी गौतम, नगर प्रमुखका स्वकीय सचिव विष्णुप्रसाद अर्याल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

त्यसक्रममा तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरे राजपत्रका साथै ठूला विकासका आयोजना समेटिएको प्रतिवेदन र नगरपालिकाको मासिक मुखपत्र ‘तिलोत्तमा सन्देश” प्रधानमन्त्री ओलीलाई हस्तान्तरण प्रदान गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । 

तिलोत्तमाले गौरबका आयोजनका रुपमा प्रदेश नम्बर पाँचको नमूना वसपार्कको रुपमा तिलोत्तमा बसपार्क, तिलोतत्तमामा चक्रपथ निर्माण, बहुउपयोगी कृषि उपज प्रशोधन केन्द्र सञ्चालन , फोहर मैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट निर्माणलाई समावेश गरेको छ । 

स्थानीय कानूनको संगालो बुझ्दै प्रधानमन्त्री ओलीले कानुन निर्माणमा तिलोत्तमाले देखाएको तदारुकता प्रशंसनीय रहेको भन्दै बधाइ दिएका थिए । 

नगरप्रमुख घिमिरेले नगरपालिकाले अघि सारेका विकासका ठूला आयोजनाका बारेमा जानकारी गराउँदै त्यसमा सघाउन प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरेका थिए । 

त्यसअघि नगरपालिकाको टोलीले स्थानीय कानून मुख्य सचिव लोकदर्शन रेग्मी, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव डिल्लीराज घिमिरेलाई हस्तान्तरण गरेको थियो । 

नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि तिलोत्तमा राजपत्रमा प्रकाशित भएपछि नगरपालिकाले त्यसको जानकारी संघीय सरकारलाई गराएको हो ।  
फागुन ६ गते राजपत्रमा प्रकाशित स्थानीय कानुन नगरपालिकाले फागुन ९ गते प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएको थियो । 

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १०२ को उपदफा ४ मा गाउँपालिका वा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा बनाएका ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड प्रदेश सरकार र नेपाल सरकारलाई पठाउनुपर्ने व्यवस्था छ । 

तिलोत्तमा नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा (३) अनुसार प्रकाशित तिलोत्तमा राजपत्रमा ‘तिलोत्तमा नगरपालिकाको केही कानून तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन, केही सार्वजनिक लिखत प्रमाणिकरण र प्रकाशन (कार्यविधि) ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन,सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, एफ.एम. रेडियो (व्यवस्थापन तथा संचालन) कार्यविधि ऐन, शिक्षा नियमावली–२०७४ छन्  । 

यस्तै तिलोत्तमा नगरपालिकाको (कार्यसम्पादन) नियमावली, नगरसभा सञ्चालन कार्यविधि, बैठक सञ्चालन कार्यविधि, बजार अनुगमन निर्देशिका,पदाधिकारीको आचारसंहिता पनि राजपत्रमा प्रकाशित गरिएको छ । नगरपालिकाले नेपालको संविधान २०७२ ले दिएको अधिकार क्षेत्रमा रही स्थानीय कानुन निर्माण गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्