
काठमाडौं, २६ फागुन- कप्तान पारस खड्का ७५ रन बनाएर आउट भएपछि नेपाली टोलीले ब्याटिङमा संघर्ष गरिरहेको छ ।
पारसपछि दीपेन्द्रसिंह ऐरी ३२ र रोहितकुमार पौडेल १ रन जोडेर आउट भएका छन् ।
टस जितेर पहिले ब्याटिङ रोजेका पारसले ८२ बलको सामना गरी ७५ रन जोडे । यसक्रममा उनले १० चौका र १ छक्का प्रहार गरे ।
यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल २३ र अनिलकुमार शाह ७ रन जोडेर आउट भए । मल्लले ६९ तथा शाहले १३ बलको सामना गरे ।
नेपालले यो समाचार तयार पार्दासम्म ३७ ओभर ४ बलमा ५ विकेट गुमाएर १४९ रन जोडेको छ । आरिफ शेख र सोमपाल कामी क्रिजमा छन् ।
शुरुवाती २ खेलमा पराजय भोगेको नेपाल सुपरसिक्समा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाबमा छ । प्रतियोगितामा अप्रत्यासितरूपमा कमजोर प्रदर्शन गरेको अफगानिस्तानले पनि अहिलेसम्म अंक जोड्न सकेको छैन ।
नेपाल रहेको 'समूह बी'बाट स्कटल्याण्डले सुपरसिक्समा स्थान पक्का गरिसकेको छ । बाँकी २ स्थानमा जिम्बाब्वे, नेपाल, हङकङ र अफगानिस्तान सबैको सम्भावना जीवित छ । जिम्बाब्वेले २ खेल जितिसकेको अवस्थामा उसको सम्भावना सबैभन्दा बढी छ । हङकङले पनि १ खेल जितेको छ ।
प्रतियोगिताबाट नेपालले आगामी ४ वर्षका लागि एकदिवसीय मान्यता पक्का गर्ने लक्ष्य राखेको छ । त्यसका लागि आजको खेलमा अफगानिस्तान र सोमबार हङकङलाई हराउनुपर्ने हुन्छ ।
अन्यथा एकदिवसीय मान्यता पाउने सम्भावना क्षिण बन्नेछ ।