
काठमाडौँ, २७ फागुन -राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलका नेताहरूले हिरासतभित्रै अनशनरत आफ्नो पार्टीका सांसद रेशम चौधरीलाई रिहा गर्न माग राखेका छन् । गृहमन्त्री रामबहादुर थापासँग शनिबार भेटवार्ता गर्दै उनीहरूले उक्त माग राखेका हुन् ।
चौधरी २०७२ भदौ ७ मा कैलालीमा भएको थरुहट आन्दोलनका क्रममा एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको घटनाका मुख्य आरोपी हुन् । उनी प्रतिनिधिसभा चुनावमा भूमिगत रूपमै कैलाली १ बाट राजपा उम्मेदवार भई निर्वाचित भएका थिए । लामो समय भूमिगत रहेका उनले १४ फागुनमा कैलाली जिल्ला अदालतसमक्ष आत्मसर्मपणगरेका थिए ।
जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएकोमा उनले २० फागुनदेखि कारागारभित्रै अनशन थालेका थिए ।
‘हाम्रो मागमा गृहमन्त्री सकारात्मक हुनुभएको छ । उहाँले प्रधानमन्त्रीसँग कुरा गरेर समाधानको बाटो खोज्ने बताउनुभएको छ,’ राजपा नेता राजेन्द्र महतोले भने । उनले मानवीय हिसाबले पनि चौधरीको रिहाइको पहल गर्नुपर्ने र शपथको बाटो खोल्नुपर्ने पक्षमा आफूहरू रहेको बताए, कान्तिपुरमा खबर छ ।