
संखुवासभा, २७ फागुन- भोटखोला, चेपुवाका दावा भोटे सदरमुकाम खाँदबारीमा किमाथांकाको भन्सार कार्यालय खोज्दै सातासम्म भौंतारिए । तर, उनले कहीँकतै भन्सारको साइबोर्ड देखेनन् । न त कर्मचारी भेटे ।
केही नलागेर जिल्ला प्रशासन कार्यालय पुगेपछि बल्ल उनले भन्सार कार्यालय नै नरहेको पत्तो पाए । भन्सारको काम पनि कोष तथा लेखा नियन्त्रकको कार्यालयबाटै चलाइएको रहेछ । त्यहीँका एक कर्मचारीलाई राजस्व काट्ने जिम्मा दिइएको रहेछ । भोटेलाई किमाथांकाबाट सदरमुकाम आउँदाठ्याक्कै पाँच दिन लाग्यो ।
अब फर्कनपनि त्यति नै समय लाग्छ । उनी किमाथांकापारिको तिब्बती बजारचाँगासम्म चिराइतो लैजाने प्रयोजनले भन्सार तिर्न आएका हुन् । ‘गाउँमै भन्सार कार्यालय नहुँदा दुःख–कष्ट पाइरहेका छौं,’ भोटेले भने, ‘हाम्रो गाउँमा प्रधानमन्त्रीदेखि जिल्लास्तरसम्मका नेताहरू पुग्छन्, छिट्टै भन्सार खोलिदिन्छौं भन्छन् तर कहिल्यै काम गरेनन् ।’
जिल्लामा उत्पादित जडीबुटी तिब्बतको चाँगा बजारमा निकासी गर्न अनिवार्य भन्सार राजस्व काट्नुपर्छ । भन्सार नतिरेको सामग्री प्रहरीले सीमा कटाउन दिँदैन । त्यसैले उनीहरू ५ दिन हिँडेर सदरमुकाम धाइरहन बाध्य छन्, कान्तिपुरमा खबर छ ।