काठमाडौं, २७ फागुन — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग हुने ऐतिहासिक वार्ता सफल हुने पूर्वानुमान लगाएका छन् ।
यस वार्ताका विषयमा चीन र जापानका नेताहरूबाट आफूले प्रोत्साहन पाएको पनि उनले बताए ।
उत्तर कोरियाले विगत दुई महीनायता न्यानोपन देखाउँदै अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएको थियो । अनि ट्रम्पले पनि वार्तामा सकारात्मकता देखाएका थिए ।
ट्रम्पले पत्रकारहरूलाई भने, ‘उत्तर कोरियाले राम्रो काम गरेको छ । उससँगको वार्ताले शानदार सफलता पाउने मेरो मान्यता छ । हामीले राम्रो समर्थन पाएका छौं ।’
ट्रम्पले भने, ‘उत्तरले वार्ता चलिरहँदा क्षेप्यास्त्र प्रहार नगर्ने र आणविक निःशस्त्रीकरणको दिशामा अघि बढ्ने बताएको छ । त्यो राम्रो कुरा हो ।’
चीनका राष्ट्रपति सी चिनफिङले यस विषयमा कूटनीतिक विकल्प रोजेकोमा आफूलाई प्रशंसा गरेको अनि जापानका प्रधानमन्त्री शिन्जो आबे पनि उत्तर कोरियासँग हुने वार्ताका विषयमा अत्यन्तै उत्साहित भएको उनले बताए ।
एजेन्सी