
काठमाडौं, २७ फागुन — उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई वार्ताका लागि प्रस्ताव गरेको विषयलाई एसियाली बजारले सकारात्मक प्रतिक्रिया दिएको छ ।
यसमा आश्चर्य मान्नुपर्दैन । वार्ताको सम्भावना अनि किमले आणविक र क्षेप्यास्त्र परीक्षणलाई रोक्न तथा आणविक निःशस्त्रीकरणमा प्रतिबद्धता जनाउन मानेको अवस्था वैश्विक स्थिरताका लागि शुभ संकेत हो ।
अझ पूर्वी एसियामा यो स्वागतयोग्य नै छ । द्वन्द्व चर्किएमा अर्थतन्त्रमा अवश्यै नकारात्मक असर पर्छ किनकि उक्त क्षेत्रमा एकीकृत आपूर्ति शृंखला चेन छ ।
तर त्यसभन्दा पनि चाखलाग्दो त ‘रकेट म्यान’ किम र ‘बूढो’ ट्रम्पबीचको भेटवार्ताले उत्तर कोरियाको अर्थतन्त्र कति खराब छ भन्ने देखाउँछ ।
तथ्यांकहरूको अध्ययन गर्दा थाहा हुन्छ, उत्तर कोरियाको अर्थतन्त्र प्रतिबन्धका कारण अत्यन्तै नाजुक अवस्थामा छ ।
उत्तर कोरियाका निर्यातहरू गत वर्ष ३० प्रतिशतले घटेका थिए । उत्तरको सबभन्दा ठूलो व्यापारिक साझेदार चीनमा निर्यात ३५ प्रतिशतले घटेको छ ।
यो भनेको उत्तरको अर्थतन्त्रको एक तिहाइ भाग ध्वस्त भएको छ ।
किम जोङ–उनले सत्तामा टिकिरहनका लागि त्यहाँका सम्भ्रान्तहरूलाई खुशी बनाउनुपर्छ र उनीहरूले अर्थतन्त्र ध्वस्त भएको स्थिति मन पराउँदैनन् ।
तर प्योङयाङ यो स्थिति झनै बिग्रने देखेर आत्तिएको छ ।
‘थप कडा उपायहरू अपनाउन अझै समय लाग्नेछ अनि व्यापक र कठोर कार्यान्वयन पूर्ण रूपमा प्रभावकारी हुनलाई कुर्नैपर्ने हुन्छ,’ संयुक्त राष्ट्रसंघको विज्ञ टोलीका एक पूर्वसदस्य विलियम न्युकम्ब बताउँछन् । ‘तर प्योङयाङले
भविष्य कस्तो होला भन्ने विषयको प्रारम्भिक संकेत पाइसकेको छ ।’
नयाँ प्रतिबन्धले जन्माएको वास्तविकताले गर्दा नै उत्तर कोरियाले आणविक निःशस्त्रीकरणको विषयमा वार्ता गर्ने इच्छा देखाएको हुनुपर्छ । केही हप्ताअघिसम्म पनि यसलाई असम्भव मानिन्थ्यो ।
‘प्रतिबन्धहरू असाधारण छन्,’ अमेरिकाका पूर्व विदेशमन्त्री क्रिस्टोफर हिल बताउँछन् । ‘चिनियाँहरूले प्रतिबन्धमा साँच्चै योगदान गरेका छन् र त्यसले उत्तरलाई चोट पार्न थालेको छ ।’
प्रतिबन्धले असर पार्न थालेको त किम जोङ–उनले नयाँ वर्षको सम्बोधनमा नै स्वीकार गरिसकेका हुन् । तर उत्तरको अर्थतन्त्र कमजोर भयो भन्दैमा किमले ट्रम्पलाई वार्ता गर्न बोलाउनु उनको कमजोरी भएको भन्न मिल्दैन ।
‘आणविक निःशस्त्रीकरणका विषयमा उत्तर कोरियासँग अमेरिकाले कुनै पनि सम्झौताको एकखाले मूल्य चुकाउनुपर्ने हुन्छ,’ डिप्लोम्याटका अंकित पान्डा बताउँछन् । ‘किमको दिमागमा यो बैठक दुई बराबरी हैसियतका नेताबीच
भइरहेको हो, महत्त्वपूर्ण रूपमा दुई आणविक शक्तिबीच भन्ने छ ।’
बीबीसीमा प्रकाशित करीश्मा वासवानीको विश्लेषणको भावानुवाद