
काठमाडौं, २८ फागुन- नेपाल वायु सेवा निगमले वाई १२ जहाज उडान चीनबाट ल्याउन लागेका पाइलटले मासिक नौ हजार डलर तबल मागेका छन् । नेपालमा आएर वाई १२ सिरिजका जहाज उडाउँदा आफूहरूले मासिक तलब नौ हजार डलर पाउनुपर्ने माग चिनियाँ पाइलटले गरेको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । नेवानिले वाई १२ जहाज उडाउने पाइलट अभाव थेग्नकै लागि चिनियाँ पाइलट ल्याउन प्रक्रिया अगाडि बढाएको थियो ।
‘तीन पाइलटसँग कुरा भए पनि दुई जनाले मात्रै नेपाल आउने इच्छा देखाएका छन्’, उनले भने, ‘इच्छुक पाइलटको प्रमाणपत्र माग गरेका छौं ।’ नेवानिले भने चिनियाँ पाइलटसँग मासिक सात हजार रुपैयाँमा आउने आग्रह गरेको छ । नेवानिले अहिले एयरबस उडान गर्ने विदेशी पाइलटका लागि पनि १० देखि ११ हजार डलर मासिक खर्च गर्दै आएको कंसकार बताउँछन् ।
चिनियाँ पाइलटको विवरण आउनासाथ नेपाल नागरिक उड्डयन प्राधिकरणसँग स्वीकृतिका लागि निवेदन दिएने कंसाकारको भनाइ छ । नेवानिसँग चार वटा वाई १२ सिरिजका जहाज भए पनि दुई जनाभन्दा पाइलट छैनन् । अहिले चीनबाट ल्याइएको वाई १२ सिरिजका जहाज विमानस्थमै थन्किएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।