०८ असार २०८३, सोमबार

एकल महिलालाई सन्तान हुर्काउनै सकस, गिट्टी नकुटे चुलो जल्दैन

फागुन २८, २०७४
एकल महिलालाई सन्तान हुर्काउनै सकस, गिट्टी नकुटे चुलो जल्दैन

अछाम, २८ फागुन– मंगलसैन नगरपालिका–५ की ३० वर्षीया कोकिला सुनार गिट्टी कुटेर परिवार पाल्छिन् । उनले २६ वर्षको उमेरमा पति गुमाइन् । ४ छोराछोरीको जिम्मेवारी उनकै काँधमा छ । गिट्टी नकुटेको दिन घरमा चुलो जल्दैन ।

जेठो छोरो ८ वर्षको हुँदा उनको जीवनमा ठूलो संकट आइलाग्यो । पतिको अल्पायुमै मृत्यु भयो । त्यसपछि जीवनयापन गर्न कोकिलालाई निकै सकस भएको छ । 

छोराछोरीको पालनपोषण गर्न बिहानै काम खोज्न निस्कन्छिन् । ‘अरूले जे खायो, त्यही खाऊँ भन्छन्, अरूले जे लगायो, त्यही चाहियो भन्छन्,’ उनले भनिन्, ‘छोराछोरीले भनेअनुसार र्पुयाउनुत मेरा लागि सपनाजस्तै हो । बिहानबेलुकाको गुजारा चलाउ नै मुस्किल छ ।’

एकल महिलालाई समाजले फरक दृष्टिले हेर्छ । व्यवहार गर्छ । साँझ घर पुग्दा कहाँ पुगेर आइस् भनेर छिमेकीले अनेक शंका गर्ने उनले बताइन् । ‘गाउँलेलाई मेरो अवस्थाबारे थाहा हुँदाहुँदै पनि मैले काम गर्ने वातावरण पाएकी छैन । 

म छोराछोरी पाल्न संघर्ष गरूँ कि बाँच्नका लागि समाजसँग लडिरहूँ,’ उनले भावुक हुँदै भनिन् । छोराछोरी दसैंतिहार आउँदा नयाँ लुगा चाहियो भन्छन् । उनी र्पुयाउन सक्दिनन् । कापीकलमकै जोहो गर्नगाह्रो छ उनलाई । 

‘कान्छो छोरो जम्मिएको ७ दिनपछि मैले ढुंगा बोक्ने काम सुरु गरेँ । अहिलेसम्म यही काम गर्दै छु,’ उनले सुनाइन् । ४ छोराछोरी मंगलसैनस्थित षोडसा माविमा पढ्छन् । उनले अहिलेसम्म नयाँ पोसाक किनेर छोराछोरीलाई स्कुल पठाउन सकेकी छैनन् । 

अरूले दिएका पुराना लुगाले गुजारा चलेको छ । ‘नयाँ पोसाक लगाएर स्कुल जाने छोराछोरीको रहर कहिल्यै पूरा हुन सकेन,’ उनले भनिन् ।, कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्