
कैलाली, २९ फागुन–अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई थप उपचारका लागि काठमाडौं लगिदै छ । उनीमाथि सोमबारराति गोली र खुकुरी प्रहार भएको थियो ।
घटना लगत्तै नगर प्रमुख चौधरीलाई सुखडस्थित घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई राति नै नेपालगञ्ज मेडिकल कलेज लगिएको हो । चौधरीलाई थप उपचारका लागि काठमाडौं लैजान लागिएको हो ।
चौधरीको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ३ वटा मोटरसाइकलमा आएको समूहले घर बाहिर बोलाएर चौधरीलाई आक्रमण गरेको बताइएको छ । घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
तीन जना पक्राउ
कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई आक्रमण गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सुखड क्षेत्रबाट विप्लव नेतृत्वको नेकपाका ३ जनालाई पक्राउ गरेका प्रहरीले जनाएको छ । उनीहरु माथि अनुसन्धान भइरहेको छ ।
अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन । घोडाघोडीको ‘बोक्सी काण्ड’मा मिलापत्र गराउन खोजेको भन्दै विप्लव समूहका एक नेताले चौधरीलाई एमालेले कारवाही नगरे आफूहरुले ‘जनकारवाही’ गर्ने धम्की दिएका थिए ।