
काठमाडौं, २९ फागुन — बंगलादेशको सिल्हेतस्थित मेडिकल कलेजका १३ नेपाली विद्यार्थीमध्ये ११ को विमान दुर्घटनामा मृत्यु भएको छ ।
जलालाबाद रागिब–राबेया मेडिकल कलेजको १९औं ब्याचका ती विद्यार्थीहरू एमबीबीएसको अन्तिम परीक्षा सकेर एक महीना लामो छुट्टीमा नेपाल आएको कलेजका प्राचार्य आबेद होसेनले बताए ।
दुर्घटनामा परेका विद्यार्थीहरू सञ्जय पौडेल, सञ्जय महर्जन, नीगा महर्जन, अन्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, श्वेता थापा, मीली महर्जन, सरुना श्रेष्ठ, अल्गिना बराल, चारु बराल, समीरा व्यञ्जनकार, आश्ना शाक्य र प्रिन्स धामी हुन् ।
समीरा व्यञ्जनकार र प्रिन्सी धामीबाहेक सबैको दुर्घटनामा मृत्यु भएको हो । व्यञ्जनकार र धामीलाई काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार गरिँदैछ ।
उक्त मेडिकल कलेजका नेपाली विद्यार्थी सुभाष आचार्यले पनि यूएस–बांग्ला विमान चढ्न खोजेका थिए तर उनको टिकट समयमै कन्फर्म हुन सकेको थिएन ।
कलेजको डर्मिटरीमा द डेली स्टारका संवाददाताले चार नेपाली विद्यार्थीलाई भेटेका थिए । उनीहरू तनावमा थिए र आफ्नो परिवारलाई सम्पर्क गर्न खोज्दै थिए । छुट्टीको समय बिताउनका लागि उनीहरू नेपाल उड्ने योजना बनाइरहेका थिए ।
कलेजले विद्यार्थीहरूको मृत्युको तीन दिनसम्म शोक मनाउने घोषणा गरेको छ ।
द डेली स्टारबाट