
काठमाडौं, २९ फागुन — बंगलादेशको नागरिक उड्डयन प्राधिकरणको एक अनुसन्धान टोली मंगलवार काठमाडौं आएर यूएस–बंगला विमानको दुर्घटनाका बारेमा बुझ्ने भएको छ ।
यता नेपालको नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले घटनालगत्तै अनुसन्धान आरम्भ गरिसकेका छन् ।
यो बंगलादेशको इतिहासकै सबभन्दा ठूलो विमान दुर्घटना हो ।
नागरिक उड्डयन प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै अवतरणका समयमा पाइलटले टावर नियन्त्रकको निर्देशन पालना नगरेको बतायो ।
प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बीबीसीलाई बताएअनुसार, बम्बार्डियर क्यू४०० विमानलाई धावनमार्गको दक्षिणतर्फबाट अवतरणको अनुमति दिइएको भएपनि विमान चाहिँ उत्तरतर्फबाट ओर्लियो ।
‘यस्तो असामान्य अवतरणको कारण हामीले पत्ता लगाउन सकेका छैनौं,’ गौतमले बीबीसीलाई बताए ।
त्रिभुवन विमानस्थलमा एउटा मात्र धावनमार्ग छ र कताबाट अवतरण गर्ने अर्थात् अप्रोच भेक्टरका आधारमा त्यसलाई रनवे ०२ र रनवे २० भनिन्छ । एयर ट्राफिक कन्ट्रोलर र पाइलटबीचको कुराकानीको रेकर्डिङ सुन्दा उनीहरूका बीच मिसकम्युनिकेसन भएको देखिन्छ ।
प्राधिकरणको प्रेस विज्ञप्ति अनुसार, पाइलटले विमानको दिशा परिवर्तन गरेपछि विमान सुरक्षित रूपमा अवतरण गराउन सक्ने पुष्टि गरेको देखिन्छ ।
जमीनमा अवतरण गर्नुपूर्व क्लीयरेन्स कुर्ने विमानले अण्डाकार रूपमा घुमाउनुपर्ने हुन्छ र पाइलटले यो एडिसनल होल्डिङ प्याटर्न अपनाएका थिए । उनलाई कन्ट्रोलरले विमानको अलाइनमेन्ट सही नभएको भनी सचेत गराएका थिए । विमानबाट यससम्बन्धमा कुनै प्रतिक्रिया आएन ।
‘पाइलटले नियन्त्रण गुमाए र धावनमार्गमा अवतरण गराउन सकेनन् । विमान नजिकैको घाँसे मैदानमा ठोक्कियो,’ बंगलादेशका नागरिक उड्डयन मन्त्री शाहजहाँ कमालले भने ।
बंगलादेशको उड्डयन प्राधिकरणका अध्यक्ष एम नाइम हसनले आफूहरूको अनुसन्धान टोलीले नेपालको प्राधिकरणलाई सहायता गर्ने बताए ।
‘समितिबाट प्रतिवेदन प्राप्त भएपछि हामीहरू विमान किन दुर्घटनाग्रस्त भयो भनी टिप्पणी गर्न सक्छौं,’ उनले भने ।
यूएस–बंगला एयरलाइन्सका सीईओ इमरान असिफले यस दुर्घटनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरू दोषी रहेको बताए ।
एयर ट्राफिक कन्ट्रोलले गलत सूचना दिएका कारण दुर्घटना भएको उनको भनाइ छ ।
‘पाइलट आबिद सुल्तान जिउँदै छन् र उनको कुनै दोष छैन । उनी दक्ष विमानचालक हुन् र विगत तीन वर्षयता विमानमा कुनै प्राविधिक गडबडी छैन,’ इमरानले भने ।
अप्डेट : पाइलट आबिद हुसेनको मंगलवार बिहान मृत्यु भइसकेको छ ।
ढाका ट्रिब्यूनबाट