
महेन्द्रनगर, १ चैत– भीमदत्त नगरपालिकामा नगर स्तरीय विपद् व्यवस्थापन तथा उत्थानशील समिति गठन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा समिति गठन गरिएको छ ।
नगरपालिकामा बुधबार सबै वार्डका अध्यक्ष, सुरक्षा निकाय र गैर सरकारी संस्थाका प्रमुखहरुसितको बैठकबाट समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा नगर उप प्रमुख सुशिला चन्द र सदस्यमा सबै वडाका अध्यक्ष, सुरक्षा निकायका प्रमुख र उद्योग बाणिज्य संघका प्रतिनिधि सदस्य छन् ।
भीमदत्तका मेयर विष्टले चुरेको विनाश र जलवायु परिवर्तनका कारण भीमदत्त नगरपालिकामा विपद्को उच्च जोखिममा परेकोले सबै पक्षले सहकार्य र समन्वय गरी जानु पर्ने आवश्यकता औंल्याए ।
‘बर्खामा बाढी र डुबानले बर्सेनी विपद्को अवस्था आउने गरेको सबैलाई जानकारी नै छ, यस अवस्थामा नगरपालिका एक्लो प्रयास पर्याप्त हुँदैन’ नगर प्रमुख विष्टले भने,‘यसमा सबैको सहयोग र सहकार्य आवश्यक छ, यसमा सबैले एकजुट भएर जानु आवश्यक छ ।’
नगर प्रमुख विष्टले विपद् व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाएर जाने उल्लेख गर्दै त्यसमा सबै सरोकारवाला निकायको सहयोग हुनेमा आशावादी भएको बताए । ‘यो कार्यमा सबैको सहयोग हुने आशा राखेका छौ, भीमदत्त नगरपालिका सहकार्य गर्न सधैं तयार छ’ उनले भने ।
बैठकले भीमदत्त नगरपालिका १९ ओटै वार्डमा वडा स्तरीय विपद् तथा उत्थान समिति गठन गर्ने निर्णय गरिएको छ । नगर प्रमुख विष्टको अध्यक्षतमा बसेको बैठकमा उप नगर प्रमुख सुशिला चन्द सिह, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा, प्रशासकीय अधिकृत हरि सिह धामी लगायतका सहभागी भएका छन् ।
भीमदत्तका सूचना अधिकारी प्रशासकीय अधिकृत धामीले बैठकमा सहभागीहरुले नगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि गुरु योजना बनाएर जानु पर्ने धारणा राखेको जानकारी दिए । यसैगरी बुधबार भीमदत्तमा स्थानीय राजश्व परामर्श उप समितिले विभिन्न क्षेत्रका सरोकारावालासित कर सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । उप समितिका संयोजक नगर उप प्रमुख चन्दको अध्यक्षतामा वार्ड अध्यक्ष, सरकारी कार्यालय र सरोकारवाला निकायसित छुट्टाछुट्टै कार्यक्रम गरिएको छ ।
कार्यक्रममा सहभागी सबैले राजश्व संकलनमा सहयोग गर्ने निर्णय गरिएको छ । भीमदत्त नगरपालिका क्षेत्रका शिक्षण संस्थाहरुको शैक्षिक गुणस्तर सुधारका लागि बुधबार नै सरोकारवालासित छलफल गरिएको छ ।