
काठमाडौं, २ चैत -नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा पु¥याउने योजना राज्यले लिएको भए पनि अझै एक चौथाइ बढी जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको बजेटको मध्यावधि तथ्यांकले अघिल्ला वर्षमा भन्दा गरिबीको रेखामुनि रहने नेपालीको प्रतिशत बढेको देखाएको छ ।
अर्थ मन्त्रालयका अनुसार हाल नेपालमा २५ प्रतिशतभन्दा बढी नागरिक गरिबीको रेखामुनि छन् । तथ्यांकअनुसार ७१ लाख ७५ हजारभन्दा बढी नागरिक सो रेखामुनि रहेका बताइएको छ ।
राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्यांक विभागका अनुसार हाल नेपालको जनसंख्या २ करोड ८७ लाख छ । विभागका महानिर्देशक सुमनराज अर्यालका अनुसार यो नेपालको जनसंख्याको पछिल्लो आँकलन हो ।
तथ्यांक विभागले तीन वर्षअघि गरिबीको रेखामुनि रहनेको प्रतिशत २१ दशमलव ८ रहेको घोषणा गरेको थियो । २०७२ सालको विनाशकारी भूकम्पपछि गरिबीको रेखामुनि रहनेको संख्या बढेको विभागको भनाइ छ । विभागले केही समयअघि गरिबीको रेखामुनि २८ दशमलव ५ प्रतिशत रहेको जनाएको थियो ।
राज्यले अवलम्बन गरेका गरिबीसम्बन्धी कार्यक्रमले वास्तविक गरिबलाई समेट्न नसकेकाले गरिबीको गहनता र विषमताको खाडल बढेको राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. स्वर्णिम वाग्ले बताउँछन् । निरपेक्ष गरिबीको विद्यमान संख्यामा कटौती गरी समतामूलक समाजको निर्माणका लागि राज्यले नीति तथा कार्यक्रम ल्याएर त्यसलाई घटाउनुपर्ने उनको तर्क छ, राजधानी दैनिकमा खबर छ ।