०४ असार २०८३, बिहीबार
एनसीसी बैंक घोटाला प्रकरण

राष्ट्र बैंकले लुकाएको केसमा सीआईबीको ‘स्ट्राइक’, नक्कली लालपूर्जा बनाएर डेढ अर्ब झ्वाम !

राष्ट्र बैंकले लुकाएको केसमा सीआईबीको ‘स्ट्राइक’, नक्कली लालपूर्जा बनाएर डेढ अर्ब झ्वाम !

काठमाडौं, २ चैत– नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरे पश्चात मर्जरको फाइदा उठाउँदै तत्कालीन एपेक्स डेभेलपमेन्ट बैंकमा १ सय ५० करोड बढीको घोटाला भएको खुलेको छ । 

तत्कालीन एपेक्स बैंकको काठमाडौंको दरवारमार्ग, भक्तपुरको लोकन्थली, सुनसरी इटहरी, सुर्खेत र बांकेको नेपालगन्ज शाखाबाट अनियमित रुपमा कर्जा प्रवाह गरी १ अर्ब ५० करोड ९३ लाख ३३ हजार ८ सय ८४ रुपैयाँ बराबरको घोटाला भएको खुलेको हो । 

विभिन्न ठाउँमा नक्कली जग्गाको पूर्जा बनाइ कर्जा प्रवाह गरेर घोटाला गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले जनाएको छ । 

उक्त घोटालामा संलग्न रहेको भन्दै सिआईबीले १३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा एपेक्स बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल, तत्कालीन कार्यकारी अधिकृत ऋषिराज भट्ट, बैंकका सञ्चालकहरु लगायत कर्मचारी छन् । 

हेर्नुहोस् पक्राउ परेकाहरुको सूची, 

नाम थर

पद

  1.  

विष्णु प्रसाद धिताल

तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष

  1.  

ईच्छा बहादुर गुरुङ

तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक

  1.  

सुवर्ण राज भण्डारी,

तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक

  1.  

मधुवन लाल श्रेष्ठ

तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक

  1.  

ऋषी राज भट्ट

तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत

  1.  

दुर्गा दत्त जोशी,

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक

  1.  

रामचन्द्र बसौला

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक

  1.  

बिकास श्रेष्ठ

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

  1.  

सागर नेउपाने

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख

  1.  

मान ब. राउत

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

  1.  

विनित मणि उपाध्याय

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायकमहाप्रबन्धक

  1.  

मोहन खरेल

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत

  1.  

सुदिप थापा

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

पक्राउ परिएकामाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान थालिएको सिआईबीले जनाएको छ । 


विवादको नालीबेली

एनसीसी बैंक भित्रको विवादको सुरुवात एक दशकदेखि भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार २०६६ सालदेखि नै एनसीसी बैंकले केन्द्रीय बैंकले दिएका विभिन्न निर्देशनहरु  पालना नगरी अटेरी गर्ने गरेको थियो ।  

एनसीसी बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष निर्मल प्रधान र एनबी गु्रपसँगको विवादको जालोमा हालका लगानीकर्ता परेका छन् ।  २०६६ सालमा एनबी बैंक र एनसीसि बैंकमा भएको इन्साइडर लेण्डिङ घटाउन केन्द्रीय बैंकले एनबी समूहलाई दवाव दिएको थियो । क्यास (पूँजि) अभाव झेलिरहेका एनबी समुहका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठ वित्तीय व्यवस्थापन गर्न नसकेपछि निर्मल प्रधानसँग विभिन्न सर्तसहित पटक पटक ऋण लिन पुगे ।

एनसीसीकै शेयर होल्डर भएकाले धितोको उचित मुल्याङ्कन नगरी पटक पटक ऋण दिइयो । सोहीे ऋण पछि आएर समस्या बन्न पुग्यो ।

एनसीसी बैंकमा रहेको एनबी समूहको शेयर धितोमा राखेर लिएको ऋण चुक्ता गर्न नसकेपछि गत महिना बाँकी शेयर बेचेर एनबी गु्रप बाहिरिने घोषणा भएको छ । 

के थियो समस्या ?

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक व्यवस्थापन समितिभित्रको लामो समयदेखिको विवाद साम्य नभएपछि ३ वर्ष केन्द्रीय बैंकले हस्तक्षेप गर्यो । 

त्यतिबेला बैंकका मुख्य प्रवद्र्धकहरुबीच एकले अर्कालाई निषेध गर्ने, विश्वास नगर्ने र बोलचाल समेत नहुने अवस्था आए पछि लामो समयसम्म सञ्चालक समितिको बैठक बस्न सकेन । ठूला कर्जा लगानी, समस्यामा परेका कर्जा असुलीदेखि सञ्चालक समितिको निर्णयमा गर्नुपर्ने सबै काम ठप्प भयो । 

दुबै पक्ष एकले अर्कालाई दोषि भन्दै राष्ट्र बैंकको शरणमा पुगेपछि राष्ट्र बैंकले एनसीसी बैंकमा हस्तक्षेप गर्यो । 

विवाद बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले तत्कालीन सञ्चालक समिति भंग गरी वि.स. २०७० साल  फागुन २१ देखि २०७३ साल पुस १८ गतेम्म सञ्चालक समिति आफ्नो नियन्त्रणमा लियो । 

राष्ट्र बैंकले तत्कालीन बैंक तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको संयोजकत्वमा तीन सदस्सीय टोलीलाई एनसीसी बैंक सुधार गर्न जिम्मेवारी दियो । टोलीमा उपनिर्देशक रमेश आचार्य र कानून विभागका सहायक निर्देशक रमेश रेग्मी सदस्य थिए । बैंकको सञ्चालक समिति राष्ट्र बैंकले तोकेका तीन जना राष्ट्र बैंककै कर्मचारी एनसीसी बैंकको सञ्चालक बने ।

राष्ट्र बैंकको प्रत्यक्ष नियन्त्रणमा रहेको बेला राष्ट्र बैंकको नीतिअनुुरुप बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने उद्देश्यले विभिन्न चारवटा विकास बैंकहरु, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकलाई एनसीसीमा गाभियो । एनसीसी बैंकको तर्फबाट मर्जरको काम राष्ट्र बैंकका पदाधिकारीहरुको व्यवस्थापन समितिको स्वविवेकमा स्वतन्त्ररुपमा भएको र त्यसमा एनसीसी बैंकमा शेयरधनीहरुको कुनै संलग्नता रहेको थिएन । 

तर एउटा समस्याबाट गुज्रिरहेको बेंक फेरि अर्को समस्यामा फस्यो । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको खराब वित्तीय अवस्थाको नकारात्मक प्रभाव उक्त बैंकलाई प्राप्त गरेको एनसीसी बैंकमा पर्न आयो ।

राष्ट्र बैंकवालाको ‘गलत निर्णय’

एनसीसी बैंकसँग मर्जरमा जाने सम्झौता गर्नु अगाडि नै राष्ट्र बैंकले एपेक्स बैंकलाई अत्यधिक खराब कर्जा भएको बैंकको सूचीमा राखेको थियो । कानूनअनुसार अत्यधिक खराब कर्जा भएका बैंकले मर्जरमा जान पाउँदैनन् । 

तर राष्ट्र बैंकले सञ्चालनको जिम्मा लिएको बेला एपेक्स बैंक एनसीसीमा गाभिनु अर्को रहस्यपूर्ण घटना बन्न पुग्यो । एनसीसी बैंकलाई सुधार्छु भनेर तीन वर्षसम्म नेतृत्व लिएको राष्ट्र बैंकले त्यसको प्रतिवदेन नै सार्वजनिक गरेन । 

राष्ट्र बैंकका केही अधिकारीको पनि संलग्नता रहेकाले उक्त प्रतिवेदन सार्वजनिक नगरिएको २०७४ वैशाख १ गतेदेखि ‘एनसीसी बचाउ’ अभियान थालेका एनसीसी बैंकका एकजना कर्मचारीले बताए । उक्त घोटालामा राष्ट्र बैंककै अधिकारी संलग्न रहेको भन्दै एनसीसी बैंकका केही कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका थिए । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मुद्दामाथि अनुसन्धान गरे–नगरेको बारे बताउन चाहेन ।
 

salt training

कमेन्ट गर्नुहोस्