
सुर्खेत, २ चैत्र– भौतिक पूर्वाधार तथा योजना मन्त्री खड्कबहादुर खत्रीले सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था सञ्चालनको जिम्मा सरकारले लिनुपर्नेमा जोड दिएका छन् ।
वीरेन्द्रनगरमा शुक्रबार संस्थाको १७ औं साधारणसभालाई सम्वोधन गर्दै मन्त्री खत्रीले संस्था एक्लैले वीरेन्द्रनगरमा खानेपानीको संकटको सामना गर्नै नसक्ने बताए । ‘संस्था एक्लैले चाहेर पनि राजधानीको खानेपानीको समस्या समाधान गर्न सक्दैन ।’ उनले भने, ‘यसकालागि प्रदेश या केन्द्र सरकारले जिम्मा लिनुपर्छ ।’
मन्त्री खत्रीले कर्णाली प्रदेशमा अधिकांशले मदिरा सेवन गर्ने गरेको बताउँदै सबै जनप्रतिनिधिहरुले ‘ओख्तो’ मदिरा नखाने संकल्प गर्नुपर्नेमा जोड दिए । ‘ओख्तोकै कारण समाजमा विभिन्न घटनाहरु घटेका छन् । विकासे कार्यहरुमा विवाद हुने गरेको छ ।’ उनले भने, ‘त्यसैले आउनुहोस्, मदिरा विरुद्ध सबैले संकल्प गरौं ।’
मन्त्री खत्रीले भेरी बबई डाइभर्सन आयोजना सुर्खेती जनताकालागि त्यति महत्वपूर्ण नभएको बताए । पानी बर्दिया लगिने र त्यहाँ सिँचाई गरिने अनि उत्पादित विजुली राष्ट्रिय प्रसारण लाईनमा जोडिने भएकाले सुर्खेती जनताको हितमा नभएको उनको धारणा थियो । ‘सुख्खायाममा आधा पानी बर्दिया लैजाने भनिएको छ, तर संस्थाले भेरीबाटै पानी ल्याउने योजना अघि सारेको छ ।’ मन्त्री खत्रीले भने, ‘यदि भविष्यमा पानीको मुहान सुकेको खण्डमा हामीले भेरीको पानी पाउने की नपाउने रु’ मन्त्री खत्रीले आयोजनाले सुर्खेत जिल्लाका नागरिकलाई शेयर दिनुपर्ने र प्रभावितक्षेत्रका जनतालाई आवश्यक मुआव्जासमेत दिनपर्नेमो जोड दिए । ‘अपर कर्णाली, नलसिंहगाडका प्रभावित क्षेत्रका जनताले अर्बौ मुआब्जा पाउन हुने, भेरी बबईका प्रभावित जनताले किन नपाउने रु’ यदि आयोजनाले उक्त माग पुरा नगरे आन्दोलनको लागि तयार रहन समेत स्थानीयलाई आग्रह गरे ।
मन्त्री खत्रीले प्रदेशको समृद्धिका लागि सबैको आचरण र शैलि सुधार गर्नुपर्ने बताए । ‘हामीमा नकारात्मक संस्कार हावी भएको छ ।’ उनले भने, ‘यदि प्रदेश समृद्ध बनाउने हो भने हाम्रो सोच परिवर्तन गर्न जरुरी छ ।’ यसकालागि सबैले श्रम गर्नुपर्ने बताए । कर्णाली प्रदेश अहिले संघीय सरकारसँग भीख मागेर चलाउनुपर्ने अवस्थामा रहेको बताउँदै त्यो अवस्थालाई सुधार गर्न सबैको एकता, सहकार्य र उत्पादनशीलतामा लाग्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले अर्काको विरोध गर्ने बानीका कारण विकास निर्माणमा ढिलाई भइरहेको बताए । उनले साँच्चैको विकास निर्माण गर्ने हो भने हरेक नागरिकले आफ्नो कर्तब्य बुझ्नुपर्ने र सोही अनुरुप व्यवहार परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिए । उनले संस्थालाई आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताए ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरपालिका नगरमा खानेपानी व्यवसथापनका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले भेरी नदिको पानी उपत्यका ल्याउन सकेको खण्डमा उपत्यकाको खानेपान िसमस्या समाधान हुने अपेक्षा राखे ।
कार्यक्रममा बालकृष्ण शर्मा, पिताम्बर ढकाल, क्षेत्रीय अनुगमन कार्यालय सुर्खेतका नि। प्रमुख आवेद हुसैन लगायतले उपत्यकाको खानेपानी समस्या समाधान गर्न डिप बोरिङ, दैलेखको लोहोरे खोलाको पानी लयाउने योजना बनाउनुपर्नेमा जोड दिए ।
यसअघि संस्थाका अध्यक्ष कुलमणी देवकोटाले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।