
विराटनगर, २ चैत– ताप्लेजुङमा आफ्नै दाजुले हानेको भरुवा बन्दुकले लागेर एकजनाको ज्यान गएको छ । जिल्लाको आठराई–त्रिवेणी गाउँपालिका–३ हाङपाङमा दाजुले चलाएको भरुवा बन्दुक लागेर भाइको मृत्यु भएको हो ।
स्थानीय बालेश्वर आङ्बोहाङ लिम्बुको छोरा २७ बर्षिय सुवास आङबोहाङ लिम्बु र २२ बर्षिय दिवश आङबोहाङ लिम्बु विहीबार राती सिमलबोटे जंगलमा शिकार खेल्ने क्रममा दाजु सुवासले चलाएको भरुवा बन्दुकले भाइ दिवशलाई लागेको थियो ।
भरुवा बन्दुकको गोली लागेर दिवसको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले दाजु सुवाससहित अन्य दुइजनालाई १ थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ ।