३० जेठ २०८३, शनिबार

मुख्य समाचार : प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, उपराष्ट्रपतिमा पुन दोहोरिने

मुख्य समाचार : प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, उपराष्ट्रपतिमा पुन दोहोरिने

काठमाडौं, ३ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीले आफ्नो पार्टी एमाले र माओवादी केन्द्रलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाएकी छन् । मन्त्रीहरुले हिजो नै पदभार ग्रहण गरेका छन् । 

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन

केपी शर्मा ओली -प्रधानमन्त्री, शहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या

ईश्वर पोखरेल- रक्षा
रामबहादुर थापा- गृह
प्रदीपकुमार ज्ञवाली- परराष्ट्र 
वर्षमान पुन-  ऊर्जा, जलस्रोत तथा सिँचाइ
गिरिराजमणि पोखरेल- शिक्षा, विज्ञान तथा प्रविधि
मातृकाप्रसाद यादव- उद्योग, वाणिज्य तथा आपूर्ति 
रघुवीर महासेठ- भौतिक पूर्वाधार तथा यातायात
गोकर्णराज विष्ट- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
शक्तिबहादुर बस्नेत- वन तथा वातावरण 
लालबाबु पण्डित- सङ्घीय मामिला तथा सामान्य प्रशासन
थममाया थापा- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
डा युवराज खतिवडा- अर्थ 
जगतबहादुर सुनार (विश्वकर्मा)- युवा तथा खेलकुद
रवीन्द्रप्रसाद अधिकारी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
शेरबहादुर तामाङ- कानुन,न्याय तथा संसदीय मामिला
चक्रपाणि खनाल - कृषि, भूमि व्यवस्था तथा सहकारी
वीना मगर- खानेपानी 

राज्यमन्त्री
पद्माकुमारी अर्याल- स्वास्थ्य तथा जनसङ्ख्या

गोकुलप्रसाद बाँस्कोटा- सञ्चार तथा सूचना प्रविधि 

धनबहादुर बुढा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन 
रामकुमारी चौधरी- कृषि, भूमि व्यवस्था तथा सहकारी
 

उपसभामुखमा तुम्बाहाम्फे निर्वाचित– प्रतिनिधिसभाको उपसभामुखमा नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पराजित गर्दै तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी हुन् । तुम्बाहाम्फेले २ सय १ मत पाउँदा भुसालले ६१ मत प्राप्त गरिन् । 

उपराष्ट्रपतिमा पुन दोहोरिने– नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई दोहोर्याउने भएको छ । शुक्रबार बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले पुनलाई उपराष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेको हो । 
उपराष्ट्रपतिको निर्वाचन यही चैत ९ गते हुँदैछ । यस्तै बैठकले राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

एनसीसी बैंकका संचालकसहित १३ पक्राउ– नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका संचालक समितिका सदस्यसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरो सीआईबीको टोलीले एनसीसी बैंकका संचालक समितिका सदस्य विष्णु धिताल, डिठ्ठाबहादुर तामाङ, दुर्गादत्त जोशीसहित १३ जनालाई बैंकको १ अर्ब ५६ करोड रुपैयाँ आर्थिक घोटाला गरेको आरोपमा पक्राउ गरेको हो । 
पक्राउ पर्नेहरुमा मुख्य गरेर एनसीसी बैंकमा मर्ज भएका तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकबाट आएका सञ्चालक तथा कर्मचारीहरु छन् । चारवटा विकास बैंक मर्ज भएर एनसीसी बैंक बनेको थियो । 

जुस खुवाएर चौधरीको अनशन तोडियो– विभिन्न माग राखी १८ दिनदेखि अनशनरत राष्ट्रिय जनता पार्टीका नेता रेशमलाल चौधरीले आफ्नो अनशन तोडेका छन् । गृहमन्त्री रामबहादुर थापाले चौधरी अनशनरत वीर अस्पताल पुगेर शुक्रबार अनशन तोडाएका हुन् ।
कैलाली क्षेत्र नं १ बाट निर्वाचित चौधरी आफूलाई संसद् सदस्यको प्रमाणपत्र तथा शपथ ग्रहणको व्यवस्था मिलाउनुपर्ने, आफूमाथिको मुद्दा फिर्ता लिनुपर्ने, पहिचानका आधारमा संघीय सीमांकन हुनुपर्ने लगायत माग राखी अनशन बसेका थिए । अनशन तोडाउँदै  गृहमन्त्री थापाले मुद्दा र अदालती विषय बाहेकका अन्य विषयका माग पूरा गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमाणपत्र नक्कली ठहरिए– विशेष अदालत काठमाडौंले स्वास्थ्य मन्त्रालय अन्तर्गत गाइनोकोलोजिस्टका रुपमा कार्यरत डा. सुनिल आचार्य र मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौंडामा कार्यरत डा. रजनी अग्रवालको प्रमाणपत्र नक्कली भएको फैसला सुनाएको छ । अख्तियारले एक वर्षअघि हालेको मुद्दामा फैसला गर्दै उनीहरुको प्रमाणपत्र नक्कली रहेको ठहर गरेको हो । 
विशेष अदालत काठमाडौंमा उनीहरुको शुक्रबार अन्तिम सुनुवाइ भएको थियो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले यस्तो फैसला सुनाएको हो । अख्तियारले २०७३ भदौ ७ मा अग्रवाल र ८ गते आचार्यविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा दायर गरेको थियो। 

मुख्य न्यायाधिवक्ता डिसीद्वारा शपथ– प्रदेश नं ५ का मुख्य न्यायाधिवक्ता ठाकुर डिसीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखको उपस्थितिमा मुख्य न्यायाधिवक्ता डिसीलाई तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले शुक्रबार पद तथा गोपनियताको शपथ गराए । 

चालक र सहचालकको पहिचान ज्याकेट– काठमाडौंस्थित रत्नापार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले शुक्रबारदेखि पोशाक लगाउन थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णयअनुसार चालक तथा सहचालकले पोशाक लगाउन शुरु गरेका हुन् । 
रत्नापार्कदेखि ललितपुरसम्म चल्ने झण्डै १०० माइक्रोबसका चालक तथा सहचालकलाई पोशाक वितरण गरिएको छ । पोशाकको प्रयोगसँगै चालक र सहचालकको व्यवहारमा पनि परिवर्तन आउने अपेक्षा गरिएको छ । 

नेपाल नेदरल्याण्ड्ससँग खेल्दै– जिम्बावेमा जारी आईसिसी विश्वकप छनोटको सातौं स्थानका लागि शनिबार नेपालले नेदरल्याण्ड्सको सामना गर्दै छ । एकदिवशीय मान्यता पाएपछि उत्साहित नेपाली टोलीले प्रतियोगितामा खराव लयमा रहेको नेदरल्याण्ड्ससँग सातौँ स्थानका लागि खेल्न लागेको हो ।
बिहीबार पपुवा न्यूगिनीबिरुद्ध ६ विकेटको जित दर्ता गरेपछि नेदरल्याण्ड्सले हङकङलाई हराएसँगै नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । यता नेदरल्याण्ड्सले सुपरसिक्समा पुग्ने सपना तुहिएपछि सातौँ स्थानका लागि खेल्नु परेको हो । 

salt training

कमेन्ट गर्नुहोस्