२२ जेठ २०८३, शुक्रबार

पौडेल र सिटौला समूहको निष्कर्ष- देउवाले पार्टी हाँक्न सक्दैनन्, नेतृत्व बदल्नुपर्छ

चैत ३, २०७४
पौडेल र सिटौला समूहको निष्कर्ष- देउवाले पार्टी हाँक्न सक्दैनन्, नेतृत्व बदल्नुपर्छ

काठमाडौं, ३ चैत– कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीबाट असन्तुष्ट रहँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एउटै कित्तामा उभिने प्रयासमा छन् । देउवाको कार्यशैलीबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षसहित उनीहरू एउटै कित्तामा आउन लागेका हुन् ।

पौडेल र सिटौलालाई मिलाएर संस्थापनइतर समूह बलियो बनाउने अभियानमा चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेललगायत युवा नेता सक्रिय भएका छन्। महासमिति बैठकअघि नै यी दुई समूहलाई मिलाएर पार्टीमा नीति, कार्यक्रम र नेतृत्व परिवर्तनको मुद्दालाई प्रमुख एजेन्डा बनाउने तयारीमा संस्थापनइतर समूह लागेको छ।

प्रतिनिधिसभा, प्रदेश र स्थानीय तहका तीनै निर्वाचनमा पार्टीले नराम्रो पराजय भोगेपछि पौडेल र सिटौला समूहका विचार मिल्न गएको हो। केही दिनअघि संसदीय दलको नेताको निर्वाचनमा पनि यी दुई समूह एक ठाउँमा थिए। निर्वाचनअघिसम्म पौडेल र सिटौलाको सम्बन्धमा चिसोपना थियो। दुई वर्षसम्म निरन्तर देउवालाई साथ दिएका सिटौला निर्वाचनलगत्तै फरक कित्तामा उभिन पुगेका हुन्।

‘पार्टी सभापति देउवाजीलाई हामीले दुई वर्ष ब्ल्यांक चेक दिएर सहयोग गरेका हौं तर उहाँले पार्टीलाई बलियो बनाउन सक्नुभएन,’ सिटौलाले भने, ‘अब परिवर्तनको पक्षमा लाग्ने सबैलाई गोलबद्ध गर्ने प्रयासमा छौं।’ उनले आफूपक्षीय नेता–कार्यकर्ताको भेलामा पार्टीभित्र नेतृत्वले बेथिति मात्रै भित्र्याएको आरोप लगाए। 

आगामी केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा पौडेल र सिटौला समूहले छुट्टाछुट्टै भेला र छलफलसमेत गरिरहेका छन्। सिटौलाले शुक्रबार नै आफ्नो पक्षको भेला गरेका थिए। भेलामा गगन थापा, भीमसेनदास प्रधान, प्रदीप पौडेल, उमाकान्त चौधरीसहितका नेता उपस्थित थिए। भेलाले देउवाको कार्यशैलीबाट पार्टी बलियो बन्न नसक्ने निष्कर्षसाथ परिवर्तनको पक्षमा आवाज उठाएको छ। यस्तै निष्कर्ष पौडेल पक्षको बिहीबारको भेलाले निकालेको थियो।

पौडेल पक्षले काठमाडौंमा उपलब्ध २७ जिल्लाका जिल्ला कार्यसमितिका सभापतिहरूसहितको उपस्थितिमा भेला गरेको थियो। यी दुवै समूहको निष्कर्ष पार्टीमा सम्पूर्ण रूपमा परिवर्तन गर्नुपर्छ भन्ने हो। सिटौलाका अनुसार सम्पूर्ण रूपमा भन्नुको अर्थ नेतृत्व, नीति र कार्यक्रमको परिवर्तन हो। 
तत्कालै नेतृत्व परिवर्तन सम्भव नदेखिए पनि यो मुद्दालाई केन्द्रीय कार्यसमितिको चैत ९ गतेदेखि सुरु हुने बैठकमा प्रवेश गराइने छ। त्यसपछि महासमिति बैठक हुँदै महाधिवेशनसम्म र्पुयाउने योजना छ। 

अब हुने महासमिति बैठकबाट विधान संशोधन गरेर पार्टीलाई संघीय ढाँचामा लैजाने तयारी छ। ‘अहिलेदेखि तयारी भएन भने आगामी १४ औं महाधिवेशनमा पनि देउवाबाट नेतृत्व गर्न कठिनाइ पर्छ,’ पौडेल निकट एक नेताले भने, ‘देउवाइतर समूह गोलबद्ध भएर आगामी महाधिवेशनसम्मै जाने तयारी हुँदैछ।’

आगामी महासमिति बैठकमा विधान संशोधन गरेर सभापतिलाई अझै शक्तिशाली बनाउने तयारीमा देउवा छन्। ‘१४ औं महाधिवेशनमा पनि उहाँ नै सभापतिका लागि प्रतिस्पर्धा गर्ने मुडमा हुनुहुन्छ,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘त्यसका लागि पार्टीमा आफ्नो पोजिसन बलियो बनाइराख्ने काम स्वाभाविक हो।’ 
देउवाले आफूविरुद्ध पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा आउन सक्ने आलोचनाको प्रतिवाद गर्ने भएका छन्। त्यसको तयारीका लागि शनिबार या आइतबार आफ्नो समूहको भेला राख्ने तयारी भइरहेको ती सदस्यले जानकारी दिए।, कान्तिपुरमा खबर छ।
 

salt training

कमेन्ट गर्नुहोस्