
धनगढी, ३ चैत-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आहृवान गरेको कैलाली बन्दले जनजीवन प्रभावित भएको छ ।
घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि भएको खुकुरी र गोली प्रहार घटनाको नाममा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको भन्दै विरोधस्वरूप आज बन्द आहृवान गरेको हो । उक्त पार्टीले पक्राउ परेका नेता/कार्यकर्ता रिहाइको माग गरेको छ ।
बन्दका कारण कैलालीमा बिहानदेखि छोटो तथा लामो दूरीका सवारी साधन ठप्प छन् । प्रदेश राजधानी धनगढीलगायत स्थानीय बजारहरू पूर्णरूपमा बन्द रहनुका साथै कलकरखाना लगायत पनि ठप्प छन् ।
ट्राफिक चेकपोस्ट अत्तरियाले दिएको जानकारीअनुसार अत्तरियाबाट पहाडतिर बिहानदेखि अहिलेसम्म कुनै पनि सवारीका साधन जान सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरीको स्कटिङ टोलीमार्फत सवारी साधन पुर्याउने कार्य भइरहेको जनाएको छ ।
