
काठमाडौँ, ३ चैत - नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको उनले बताए । एमाले धादिङ– काठमाडौँ सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकता प्रक्रिया अगाडि बढेको र नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एकताको घोषणा गर्ने तयारी गरिएको बताए ।
आफूले लामो समयदेखि दुई पार्टीलाई मिलाउन अधिकतम् प्रयास गरेको र सफलताको दिशामा पु¥याएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले भने , “२०६३ सालदेखि मैले एकताको प्रयास गरेँ । अहिले आएर सफल भएको छु । यसलाई अझ सार्थक बनाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ । त्यो लक्ष्यमा समेत सफलता हासिल गर्नेछ भन्ने विश्वास लिएको छु ।”
पार्टी एकता संयोजन समितिले एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजत्वका दुई कार्यदल बनाएर सांगठनिक तथा एकीकृत पार्टीको विधान बनाउने काम अगाडि बढिरहेको उपाध्यक्ष गौतमको भनाइ थियो ।
सरकार विस्तार, राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको विश्वासको मतलगायत राष्ट्रिय महत्वका काम गर्नुपर्ने भएकाले एकता प्रक्रियाका काममा केही समय लागेको जस्तो भए पनि दुई कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने उनको विश्वास व्यक्त गरे ।
उनले आफूले बर्दियामा निर्वाचन हार्नुपर्ने कुनै कारण नभएपनि निर्वाचनमा पराजित भएको उल्लेख गरे । उपाध्यक्ष गौतमले भने , “पार्टी एकताको पहल गर्ने र दिनरात नभनी खटिने मैले निर्वाचनमा पराजित हुनुपर्ने कुनै कारण थिएन । तर प्राविधिक रुपमा मैले हारे । देशले जितेको छ ।”