२२ जेठ २०८३, शुक्रबार

मुख्य समाचार : उपराष्ट्रपतिमा पुन निर्विरोध, विमान दुर्घटनामा परेका मध्ये २५ को शव पहिचान

मुख्य समाचार : उपराष्ट्रपतिमा पुन निर्विरोध, विमान दुर्घटनामा परेका मध्ये २५ को शव पहिचान

काठमाडौं, ४ चैत– उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । उपराष्ट्रपति पदमा वाम गठबन्धनबाट पुनको मात्रै उम्मेद्वारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित हुने पक्का भएको छ । उम्मेदवारी दर्तापछि उनले पत्रकारसँग अघिल्लो कार्यकालको आफूसँग अनुभव भएकोले आगामी दिनमा अझ राम्रो भूमिका निर्वाह गर्ने बताए । 

राष्ट्रियसभा उपाध्यक्षमा दुई जनाको उम्मेदवारी– राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको हो ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । राष्ट्रियसभाको आइतबार बस्ने बैठकमा उपाध्यक्ष पदको निर्वाचन हुनेछ । निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । 


२५ जनाको शव पहिचान– गत फागुन २८ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगाल एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये २५ जनाको शव पहिचान भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज फोरेन्सिक विभागले शनिबार पत्रकार सम्मेलन गरी विमान दुर्घटनामा ज्यान गुमाएका ५१ मध्ये २५ जनाको शव पहिचान भएको जनाएको हो ।
फोरेन्सिक विभागका प्रमुख प्रमोद श्रेष्ठले शव पहिचान भएकामध्ये १० जना नेपाली, १४ जना बंगलादेशी र एकजना चिनियाँ नागरिक रहेको जानकारी दिए । दुर्घटनामा परी ज्यान गुमाएका नेपालीहरुमध्ये शीला बजगाइँ, प्रशन्न पाण्डे, अन्जीना बराल, डा. बालकृष्ण थापा, हरिशंकर पौडेल, प्रवीन चित्रकार, सञ्जय महर्जन, ज्ञानीकुमारी गुरुङ, मिली महर्जन र पूर्णिमा लोहनीको शव पहिचान भएको छ ।

कर्मचारी सरकारले खटाएको स्थानमा जानैपर्ने– प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने बताएका छन् । “खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ”–प्रधानमन्त्री ओलीले भने, “वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानुपर्छ ।”
नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहणपछि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भीर रहेको बताए । जागिर शुरु गर्दाको शर्तअनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कर्मचारी अनिवार्य रुपमा जानुपर्नेमा प्रधानमन्त्री ओलीले जोड थियो । 


गणेश लामाको रिहाइको माग– गत बुधबार पेस्तोल र गोलीसहित पक्राउ परेका गणेश लामालाई रिहाइको माग गर्दै मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । शनिबार बेलुका काभ्रेको बनेपाको गोदामचोकस्थित नेपाली काँग्रेस पार्टी कार्यालयबाट निकाल्न लागिएको जुलुसमा दोहोरो झपड भएको हो । 
मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले मसाल खोसेपछि काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए । झडपका क्रममा नेपाली काँग्रेसका करिब २० जना कार्यकर्ता घाइते भएका बताइएको छ । 


‘भिजिट नेपाल इयर’अभियान– सरकारले आगामी सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक ल्याउने लक्ष्यका साथ ‘भिजिट नेपाल इयर’अभियान शुरु गर्ने भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान चलाएर सन् २०१७ मा करिब १० लाख पर्यटक भित्राउन सफल भएको सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष ‘भिजिट नेपाल इयर’ का रुपमा मनाएर पर्यटक बढाउले अभियान शुरु गर्न लागेको हो । 
सरकारले आफ्नो निर्वाचन घोषणापत्रमै ५० लाख पर्यटक पु¥याउने उल्लेख गरेको छ । गठबन्धनकै सरकार भएकाले आगामी सन् २०३० भित्र वार्षिक ५० लाख पर्यटक पु¥याउन यस्ता अभियानले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

सी दोस्रो कार्यकालका लागि छानिए– चीनको संसद्ले राष्ट्रपति सी जिनपिङलाई दोस्रो कार्यकालका लागि सर्वसम्मतिले चुनेको छ । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा शनिबार बिहान भएको मतदानमा चिनियाँ नेसनल कंग्रेसले ६४ वर्षीय सीलाई चिनियाँ राष्ट्रपति एवं सेनाको प्रमुखका रुपमा चुनेको हो । चिनियाँ कंग्रेसका २ हजार ९ सय ७० प्रतिनिधिले मतदानमा सहभागीता जनाएका थिए । राष्ट्रपति सीको कार्यकाल सन् २०२३ सम्म हुनेछ ।  

नेपाल नेदरल्याण्ड्ससँग पराजित– विश्वकप छनोटको सातौं स्थानको प्ले अफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४  रन मात्र जोड्न सक्यो । 
नेपालका लागि सोमपाल कामीले ३६, कप्तान पारस खड्काले २२, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले १३ र सन्दीप लामिछानेले १४ रन जोड्नुबाहेक अन्य पाँच खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् । 
नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्यान्ड्सका रोलफ भानडर मर्व एक्लैले ४ विकेट लिएका थिए । यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १८९ रन बनाएको थियो ।
नेदरल्याण्ड्सलाई मध्यम स्कोरमा समेट्ने क्रममा नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने ललितनारायण राजवंशी र सन्दीप लामिछानेले समान दुई÷दुई र शक्ति गौचनले एक विकेट लिए ।

प्रधानमन्त्रीको बधाई– प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्बाब्वेमा सञ्चालन भएको एकदिवसीय विश्वकप क्रिकेट छनोट खेलमा नेपालले एकदिवसीय मान्यता दिलाउन सफल नेपाली खेलाडी तथा प्रशिक्षकलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार राति विज्ञप्ति जारी गरी नेपालले पाएको सफलताप्रति विशेषतः नेपाली क्रिकेट टोली र समस्त नेपाली क्रिकेटप्रेमी दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक बधाई दिँदै नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ रेकर्ड कायम गरेकोमा खुशी व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्