१३ असार २०८३, शनिबार

११ निर्दोष नेपालीलाई अनाहकमा सात वर्ष जेल, एकको जेलमै मृत्यु

कात्तिक २०, २०७४
११ निर्दोष नेपालीलाई अनाहकमा सात वर्ष जेल, एकको जेलमै मृत्यु

काठमाडौँ - साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा ११ जना निर्दोष नेपालीले अनाहकमा सात वर्ष जेल सजाय भोग्नुपरेको भन्दै पीडितले न्यायको माग गरेका छन् ।jail

सन् २०१० फेब्रुअरीमा पक्राउ गरी साउदीको जेद्दा जेलमा सात वर्षको जेल जीवन बिताएर डेढ महिनाअघि नेपाल फर्किएका उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भेट गरेर आफूहरुलाई क्षतिपूर्ति दिन आग्रह गरेका हुन् ।

पीडितले साउदी अरबस्थित नेपाली दूतावासका पूर्वराजदूत र कर्मचारीले पहल नगरेका कारण आफूहरुले यस्तो सजाय भोग्न बाध्य भएको भन्दै दूतावासका तत्कालीन अधिकारीलाई कारबाहीको मागसमेत गरे ।

पक्राउ परेको साढे पाँच वर्षपछि त्यहाँको अदालतले उनीहरुलाई दुई वर्षदेखि पाँच वर्षसम्मको जेल सजायको फैसला गरेको थियो । रुपन्देहीका भक्तबहादुर दर्जी, नवलपरासीका कृष्णबहादुर दमाईं, रसुवाका सोम तामाङलाई दुई वर्ष, सुनसरीका चक्रबहादुर गुरुङ, तनहुँका केशबहादुर नेपालीलाई तीन वर्ष, ओखलढुङ्गाका वीरबहादुर बुढाथोकी, धादिङका रामबहादुर तामाङलाई चार वर्ष तथा भोजपुरका श्रीकुमार राई, झापाका दीपेन शेर्मा र मोरङका भीमप्रसाद चिमौरियालाई पाँच वर्षको जेल सजाएको फैसला साउदीका अदालतले गरेका थिए । तर उनीहरु सबैलाई पक्राउ गरेको सात वर्षपछि डेढ महिनाअघि मात्रै रिहा गरिएको थियो ।

विसं २०६८ मा पीडितका परिवारले सामूहिक रुपमा नेपालस्थित परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरे पनि रिहाइका लागि पहल नभएको गुनासो उनीहरुको छ । पक्राउ सबैलाई हतकडीसहित विमानस्थलमा ल्याएर जहाजमा राखी नेपाल पठाइएको पीडित भीमप्रसाद चिमौरियाले बताए ।

उनले भने –“साउदी अरबस्थित नेपाली दूतावासले बेलैमा पहल गरेको भए हामी एक÷दुई महिनामै छुट्न सक्थ्यौँ तर कर्मचारीको लापरबाहीका कारण बिनाकारण सात वर्ष जेल बस्नुप¥यो ।”

जेलमा आफूहरुलाई करेन्ट लगाउने र बेहोस बन्ने गरी कुटपिट गर्ने गरेको पीडितले प्रधानमन्त्रीलाई सुनाए । जेल जीवनमा आफूहरुलाई पेटभरि कहिल्यै खानसमेत नदिएको पीडित चिमौरियाले दुखेसो पोखे ।
पक्राउ परेका ११ मध्ये एक नेपालीको जेल जीवनकै क्रममा मृत्यु भएको उनीहरुले जानकारी दिए ।

मधुवन, सुनसरीका उमेश श्रेष्ठको जेलमा यातनाकै कारण मानसिक सन्तुलन गुमाएको र सोही क्रममा मृत्यु भएको उनीहरुले जानकारी दिए । मृतक श्रेष्ठको शव अझै नेपाल नल्याइएको दाबी उनीहरुको छ ।


पीडितको कुरा सुनेपछि प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई साउदी सरकारबाट क्षतिपूर्ति दिलाउन सरकारले कूटनीतिक पहल गर्ने बताए ।

मृतक उमेश श्रेष्ठको शव ल्याउनसमेत तत्कालै प्रक्रिया अगाडि बढाइने प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता व्यक्त गरे ।

यो विषयमा नेपालको साउदी अरबस्थित दूतावासबाट विवरण लिने र दूतावासको कमजोरी देखिए सम्बद्ध अधिकारीलाई कारबाही प्रक्रिया अगाडि बढाउने समेत उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्