
काठमाडौं, ७ फागुन-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले देशभित्र रोजगारीको सम्भावना खोज्न लागिपर्ने बताएका छन् । साथै वैदेशिक रोजगारीमा गएका युवायुवतीको हितमा प्रभावकारी कदम चाल्ने कुरामा पनि जोड दिने उनको भनाइ छ ।
मंगलबार श्रम मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा पत्रकारहरूसंगको भेटमा उनले सो कुरा बताएका हुन् ।
आफूले प्रारम्भिक तथ्याङ्क संकलन गरिरहेको भन्दै मन्त्री विष्टले छिट्टै परिपक्व धारणासहित अराजकता अन्त्यमा लागिपर्ने बताए । जनताले छिट्टै फरक अनुभूति गर्ने उनको भनाइ छ ।
साथै मन्त्री विष्टले नातापाता वा पार्टीसंग सम्बन्धित भएको आधारमा कसैलाई कुनै छुट नदिइने बताए । अझ एमालेको नाममा बदमासी गर्नेलाई छाड्दै नछाड्ने उनको भनाइ छ ।
देशभित्रै रोजगारी सिर्जनामा जोड दिने, विदेश गएका र जान चाहनेहरूका लागि प्रभावकारी नीति निर्माण गरेर कार्यान्वयन गर्ने र श्रमिकहरूको सामाजिक सुरक्षामा जोड दिने आफ्नो मुख्य ३ प्राथमिकता भएको मन्त्री विष्टको भनाइ छ ।
वैदेशिक रोजगारीमा गएर दुःख पाएकाहरूको उद्धार र राहतमा परराष्ट्र मन्त्रालय, कुटनीतिक निकाय, श्रम मन्त्रालय र श्रम विभागबीच प्रभावकारी समन्वयमा आफ्नो जोड रहनेसमेत उनले बताए ।