काठमाडौं, १९ माघ-व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले रिक्त राजदूत तत्काल नियुक्ति गर्न सरकारलाई निर्देशन दिएको छ । नेपालका आवासीय राजदूतावास भएको २९ मुलुकमध्ये १४ वटा देश राजदूतविहीन छन् ।
आजको
राजधानी दैनिकमा खबर छ -समितिका सभापति प्रभु साहले लामो समयदेखि राजदूत रिक्त हुँदा सम्बन्धित मुलुकमा नेपालको कूटनीतिक भूमिका कमजोर भएकाले तुरुन्त नियुक्ति गर्न निर्देशन दिने निर्णय भएको जानकारी दिए । त्यस्तै, समितिको बैठकले अवैतनिक महावाणिज्यदूतलाई स्पष्ट मापदण्डका आधारमा नियुक्ति, मूल्यांकन र कार्यप्रगति हासिल हुने गरी काम लगाउन पनि निर्देशन दिएको छ ।

बैठकमा बौल्दै सांसद चुडामणि जंगलीले नेताहरू राष्ट्रिय स्वार्थभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेका कारण देश जटिल अवस्थामा गएको बताए । हाम्रा नेताहरू प्रधानमन्त्री हुने र मन्त्री हुने रहर मात्र गर्छन्, काम गर्दैनन्,’ उनले भने, ‘मन्त्रीका लागि दौरासुरवाल सिलाउने, लगाउने र आश्वास बाढ्नेबाहेक अरू कुनै काम रहेन ।’ करिब ५० लाख नेपालीले काम गर्ने ठाउँमा नै राजदूत नभएको भन्दै उनले नेपालको कूटनीतिक असफलता भएको बताए ।
‘साउदीमा ६ लाख नेपाली श्रमिक छन्, त्यहाँ राजदूत छैनन्, कतारमा ८ लाख नेपाली छन्, त्यहाँ पनि राजदूत छैनन्,’ उनले भने, ‘यी देशमा नेपाली भोकभोकै राजदूतावासमा रात कटाइरहेका छन्, उनीहरूको उद्धार हुन सकिरहेको छैन, तिनीहरूको उद्दार हुनुपर्दैन ?’
उनले भारत र बंगलादेशले आफ्ना नागरिकलाई जहाज पठाएर तुरुन्त उद्धार गरेको भन्दै नेपाल सरकारले उद्धार गर्न नसक्नु सरकारको असफलता भएको बताए ।