१९ असार २०८३, शुक्रबार

किशोरी अवस्थामै आमा बन्ने बढे, नवजात शिशुमा समस्या

चैत ८, २०७४
किशोरी अवस्थामै आमा बन्ने बढे, नवजात शिशुमा समस्या

बुटवल, ८ चैत– बुटवल–८ तिनाउ नदिको पूर्वीतटीय सुकुम्बासी बस्तीमा ६ वर्षदेखि बस्दै आईरहेकी रमा विक मजदुरी गर्न भनी साथीहरुसँग बाटो निर्माणस्थल तिर लागिन् । उनी १५ वर्ष र ३ महिनाकी थिईन् । विककी आमा सुन्तली विक घरमा एक्लै थिईन् ।

दिनको करिब १२ बजे तिर आमा सुन्तलीलाई फोन आयो । रमालाई काम लगाइदिने ठेकेदार रहेछन् । ठेकेदारले मलिन स्वरमा छोरीलाई चक्करआएर लुम्बिनी अञ्चल अस्पतालको ईमर्जेजन्सी वार्डमा लगेकाले झट्टै आउन भने । ‘त्यतिबेला मेरो होस् हवास उडेको थियो’ सुन्तलीले सुनाइन् । हतार हतार अस्पताल पुगेर जानकारी लिएपछि फेरि अर्को समस्या जाईलाग्यो । छोरीको पेटमा ३ महिनाको बच्चा रहेछ । 

‘म छाँगाबाट खसेजस्तै भएकी थिए’, उनले भनिन्, ‘विवाह नै नगरेकी छोरीको पेटमा कसरी बच्चा आयो ? मैले केही सोच्न सकिन ।’ त्यसको ३ महिनापछि रमाको सोही स्थानकै १६ वर्षीय बिकास सेन्चुरीसँग भागी विवाह भयो । रमाले उनको पेटमा रहेको बच्चा सेञ्चुरीकै भनेपछि दुईपरिवारको सहमतिमा विवाह भएको हो । ‘विवाह सबैको सहमतिमा भएको हो’ सुन्तलीले भनिन् ‘आखिर बच्चा पनि त उस्कै (विकास) त रहेछ नी ।’ 

विवाह गरेको २ महिनापछि एक साँझ रमालाई व्यथा लाग्यो । हतारहतार छिमेकीको मोटरसाईकलमा राखेर अस्पताल पु¥याए । अस्पतालसम्म ल्याई पु¥याउँदा रमाको शरीर शिथिल भैसकेको थियो भने हातगोडा सुन्निएका थिए । त्यसको केहीबेरमै डाक्टरले ‘एक्लाम्सिया’ का कारण रमालाई बचाउन नसकिएको जानकारी दिए । 

‘कालो रात थियो त्यो मेरो लागि’ जवरजस्ती आँसुलाई आँखामै रोकेर सुन्तलीले भनिन् ‘ गर्भपतन गराएको भए बरु बाँच्थी की ?’ रमाजस्तै किशोरी अवस्थामै गर्भवती भएर अञ्चल अस्पतालमा गत आर्थिक वर्षमा मात्रै ७ सय ३५ जना महिलाहरुले पहिलोपटक गर्भवती जाँच गर्न आएका थिए । जुन संख्या अघिल्लो वर्षको भन्दा १ सय २५ ले धेरै हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार १४ वर्ष देखि १९ वर्षसम्मका किशोरीहरुको मृत्यु डेलिभरीका बेलामा आउने जटिलताका कारण हुने गरेको छ । शारीरिक रुपले परिपक्व नहुँदै गर्भधारण गर्नाले आमा र बच्चाको स्वास्थ्यमा घातक असर पुग्न सक्ने वरिष्ठ स्त्रीरोग विशषज्ञ डा. बीबी राउत बताउँछन् ।   

डा. राउतले डेलिभरीको समयमा किशोरीहरुमा वयस्क महिलाहरुमा भन्दा धेरै जोखिमपूर्ण जटिलताहरु देखिने बताउँछन् । उनका अनुसार कम उमेरमा गर्भवती हुनेको संख्या बढ्नुले मातृ र नवशिशु मृत्यु दर बढेको हो । यसका अलावा २० बर्ष देखि २४ बर्षका आमाहरुबाट जन्मेका भन्दा किशोरावस्थाको गर्भधारणबाट जन्मेका बच्चाको तौल तुलनात्मक रुपमा कम हुनुका साथै नवजात शिशुलाई दिर्घकालीन स्वास्थ्य कठिनाइहरु आउन सक्ने उनी बताउँछन् । 

नवशिशुको तौल कम हुने, उक्त रक्तचाप, समयपुर्व व्यथाले च्याँप्ने आदि समस्याहरु हुनुका साथै एक्लाम्सिया, मिसक्यारिज (बच्चा खेर जाने), समय अगावै बच्चा जन्मने आदि समस्याहरु किशोरावस्थामा बच्चा जन्माउदा देखापर्ने उनले बताए । ‘यसले अन्य तरिकाबाट मातृृ तथा नवशिशु मृत्युदरको न्युनिकरणमा हासिल भएको उपलब्धीलाई समेत लत्याउने गरेको छ ।’ डा. राउत भन्छन् ।  

किशोरी अवस्थामै आमा बन्ने बढे

रुपन्देही जिल्लामा किशोरी अवस्थामै आमा बन्ने महिलाको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा जिल्लामा विश्व स्वास्थ्य संगठनले तोकेको २० वर्षको उमेर हदभन्दा कम उमेरमै गर्भवती हुने महिलाको संख्या २ हजार पुग्नेछन् । समाजशास्त्रीहरुले यसलाई दिगो विकासको ‘लुप्त बाधक’ मानेका छन् ।
   
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले भन्छ, ‘चालू आर्थिक वर्षको पुस मसान्तसम्म ९ सय ४८ जना २० वर्ष भन्दा कम उमेरका महिलाहरुले पहिलो पटक गर्भ परीक्षण गराएका छन् ।’ अधिकारीहरु  तथ्याङ्कमा अस्पताल वा स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गर्न नआएका महिलाहरुको संख्या सम्मिलित नभएकाले बास्तवमा यो संख्या दोब्बर हुन सक्ने बताउँछन् ।
 
विगतका केही वर्षहरुका तथ्याङ्कलाई केलाउँदा उमेर नपुग्दै बच्चा जन्माउने महिलाको संख्यामा भारी वृद्धि भएको छ । यसले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासमा ‘असोचनीय’ असर पु¥याउने समाजशास्त्रीहरु दाबी गर्छन् । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष  २०७२÷७३ मा २० वर्ष भन्दा कम उमेरका २४ सय ४ महिलाले पहिलो पटक गर्भवती जाँच गराएका थिए । आर्थिक वर्ष २०७३÷७४ मा आउँदा सो संख्या झण्डै २५ प्रतिशतले वृद्धि भई २९ सय ६५ पुगेको थियो । 

किन घटेन ? 
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गौदारका अनुसार बाल विवाह नै आमा बन्ने किशोरीहरुको संख्यामा वृद्धि भएको बताउँछन्  । विवाह गर्ने उमेर हदका सम्बन्धमा विभिन्न कानुनहरु बने पनि रुपन्देही जिल्लाका अतिकम बिकसित क्षेत्रहरुमा यसको असर न्यून रहेको गौदार बताउँछन् ।

उनले गुणस्तरीय यौन शिक्षाको अभाब पनि यसको प्रमुख कारण भएको स्वीकार्छन् । विद्यालय भन्दा बाहिर रहेका अन्य हजारौं किशोर किशारीलाई सुरक्षित यौन सम्पर्कका बारेमा प्रभावकारी शिक्षाको अभाब रहेको बारे प्रमुख वैदावार अनविज्ञ छैनन् ।


‘किशोर किशोरी वर्गमा प्रभावकारी यौन शिक्षाको अभाब छ । विषेशगरी स्कुलभन्दा बाहिर रहेका किशोर/किशोरीहरुमा’ वैदवार भन्छन्, ‘गैससको ध्यान त्यता पनि जाओस् ।’

बर्षेनी २५ सयजना किशोरीहरु आमा बन्ने रुपन्देही जिल्लामा यो संख्यालाई कम गर्न १२ वटा भन्दा धेरै सरकारी तथा गैरसरकारी संस्थाहरु सक्रिय छन् । वार्षिक लाखौं रुपैयाँ बजेट खर्च हुँदै आइरहेको छ । 

जनस्वास्थ्य प्रमुख वैदवारका अनुसार सो अभियानमा जिल्ला जनस्वास्थ्य कार्यालयले आफैले समेत परिवार नियोजनका साधनहरु वितरण गर्नेदेखि किशोर किशोरीहरुलाई परामर्श दिँदै आएको छ । यस्ता संस्थाहरुले मिडिया तथा प्रत्यक्ष रुपमा जनचेतना तथा अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्दै आइरहेका छन् । तर पनि तथ्याङ्क घट्नुको साटो झन् बढिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्