
काठमाडौं, ८ चैत — प्रत्येक वर्ष २२ मार्च अर्थात् आजैको दिनमा विश्व पानी दिवस मनाइन्छ ।
पानीसम्बन्धी चुनौतीहरूका बारेमा मानिसमा जागरुकता बढोस् भने संयुक्त राष्ट्रसंघले यो दिवसको घोषणा गरेको हो ।
सामाजिक सञ्जालमा प्रायः सोधिइरहने प्रश्न हो : पानीविना मानिस कहिलेसम्म बाँच्न सक्छ ?
अनेकौं लोकप्रिय लेखहरूको निष्कर्ष निकालेर गूगलले यसको उत्तर दिएको छ । एक मनुष्य पानी नपिइकन अधिकतम २० दिनसम्म बाँच्न सक्छ । तर वास्तविकता के हो भने पानीविना मानिस तीनचार दिनभन्दा बढी बाँच्न सक्दैन ।
जीवविज्ञानका प्राध्यापक –यान्डल के प्याकर चाहिँ यो प्रश्नको उत्तर यति सरल हुँदैन भन्छन् । उदाहरणका लागि, गर्मीका बेलामा कारभित्र बन्द भएको बच्चा र गर्मीमा खेलिरहेको खेलाडी पानी पाएन भने केही घन्टामै मर्छ ।
शरीरमा पानीको कमी हुँदा मानिस मर्छ । बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार, डिहाइड्रेसन भनेको त्यस्तो स्थिति हो जतिबेला तपाईंको शरीरले पानीको जति मात्र छोडिरहेको हुन्छ, त्यति नै अनुपातमा उसले पानी पाउँदैन ।
साना बच्चा र वृद्धहरूलाई डिहाइड्रसनको बढी खतरा हुन्छ । सही समयमा यसमाथि ध्यान नदिइएमा यसले ज्यानै लिन सक्छ ।
शरीरमा पानीको कमी हुँदा सबभन्दा पहिले मुख सुक्छ । प्यास लाग्न थाल्छ । यो नै डिहाइड्रेसनको पहिलो संकेत हो ।
त्यसपछि पिसाबको रंग पहेंलो हुन थाल्छ । त्यसमा दुर्गन्ध बढ्छ । चिकित्सकहरूका अनुसार, पानीको कमी हुँदा रगतमा चिनी र नूनको सन्तुलन बिग्रिएर यसो हुन्छ ।
केही घन्टापछि थकान अनुभव हुन्छ । बच्चाहरू रोए भने पनि उनीहरूको आँसु आउन बन्द हुन्छ ।
त्यसपछिका केही घन्टामा पिसाबको मात्रा एकदमै घट्छ । केही मानिसलाई चक्कर आउन थाल्छ र आँखाले थकान अनुभव गर्छ ।
दोस्रो दिन शरीरले मुखमा अत्यधिक थुक बनाउने प्रयास गर्न थाल्छ । ओठ सुक्छ र आँखामा पीडा हुन्छ ।
बेस्सरी निद्रा लाग्छ । शरीरले जसरी भएपनि पानी बचाउने प्रयास गर्न थाल्छ ।
चिनीरोगी, मुटुरोगी र डायरियाको शिकार व्यक्तिमा यी सबै लक्षण योभन्दा छिटा. देखिन सक्छ । अत्यधिक रक्सी पिउने अनि ३८ डिग्री तापक्रममा बसेर काम गर्ने मानिसको स्थिति पनि छिट्टो बिग्रन्छ ।
दोस्रो दिन सकिँदासम्म पिसाबको अन्तराल आठ घन्टाभन्दा बढी हुन्छ ।
छालामा पानीको कमी प्रस्ट देखिन्छ । केही मानिसलाई चक्कर लाग्न थाल्छ ।
मानिसले आँखा देख्नै छोड्छन् । धमिलो देखिन थाल्छ ।
कमजोरी भएर उभिन पनि गाह्रो हुन्छ । हातगोडा चिसिन थाल्छन् ।
यो खतरनाक स्थिति हो । यसपछि मृत्यु पनि हुन सक्छ । उपचार उपलब्ध भयो भने पनि चिकित्सकहरूले रोगीलाई बचाउन सक्दैनन् ।
यसकारण छ पानी आवश्यक
हर्मोन बनाउनका लागि मस्तिष्कलाई पानी आवश्यक हुन्छ ।
शरीरले पानीबाट थुक बनाउँछ र त्यो पाचन प्रक्रियाका लागि आवश्यक हुन्छ ।
शरीरको तापक्रम पानीले निर्धारण गर्छ ।
शरीरका कोशिकाहरू पानीका कारण बढ्छन् र नयाँ कोशिका तयार पार्छन् ।
शरीरको फोहर बाहिर निकाल्न पानी नै आवश्यक हुन्छ ।
जोर्नीहरूका बीचको चिल्लोपन र छालाको आर्द्रता पनि पानीले नै दिलाउँछ ।
शरीरमा अक्सिजनको आवश्यक मात्रा बनाउन पनि पानी नै आवश्यक हुन्छ ।
बीबीसी हिन्दीबाट