
काठमाडौं, ९ चैत– सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबारभित्रको ‘हेल्थ डेस्क’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा उच्च रक्तचापको जोखिम देखिएको अहेब दीपक मुडभरीले जानकारी दिए ।
कर्मचारीमा कामको चाप र तनावले समस्या भएको हुन सक्ने उनले बताए । चिकित्सकले उपचारका लागि आउने कर्मचारीको दैनिकी बुझ्दा दिनभर चियाको भरमा बस्ने गरेको सुनाएका थिए । सिंहदरबारभित्र करिब सात हजार कर्मचारी छन् ।
उनीहरूमध्ये हालसम्म चार सय १० ले स्वास्थ्य परीक्षण गराएकोमा ७० प्रतिशत अर्थात् दुई सय ८७ मा उच्च रक्तचाप देखिएको मुडभरीले बताए ।
२१ दिनमा १६ जना इमर्जेन्सी भर्ना
सिंहदरबारका कर्मचारीमा तनाव, ग्यास्ट्रिक, प्रेसर, आँखा, टाउको दुख्नेजस्ता समस्या बढी देखिएका छन् । महिला कर्मचारीमा आँखा र टाउको दुख्ने समस्या बढी छ भने पुरुषमा तनाव, ग्यास्ट्रिक र प्रेसरको समस्या बढी देखिएको मुडभरीले बताए ।
१६ जनाको स्वास्थ्यमा समस्या देखिएका कारण वीर अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार हेल्थ डेस्कमा सेवा लिन आउने कर्मचारी ५० वर्ष माथिका बढ िछन्, नयाँ पत्रिकामा खबर छ ।